लागुऔषध ओसार पसारमा महिला र बालबालिकाको प्रयोग

 

मकवानपुर, ०६ फागुन । मकवानपुर प्रहरीले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका–१७ रातोमाटे स्थित प्रहरी चेकपोष्टमा हेटौडाबाट पथलैया तर्फ जांदै गरेको मे १ ख १९२८ नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रौतहट भसेडवा गाविस–६ बस्ने वर्ष ५८ का पाचु दास, उनका छोरा वर्ष १४ र वर्ष १० का दुई छोराहरु रहेका छन् । उनीहरुको शरीर खानतलासी गर्दा लगाएको कपडाको भोटो भित्र प्याक गरी सिलाई गरी लुकाई छिपाई ल्याएको अवस्थामा लागुऔषध गाँजा ८ के।जी। समेत बरादम गरेको छ । प्रहरीले उनीहरुलाई सोधपुछ गर्दा सो लागूऔषध बिक्री गर्ने व्यक्तिहरु मकवानपुर मनहरी गाविस–७ बस्ने वर्ष ५२ का सुब्बा गिरी र उनकी श्रीमती वर्ष ३७ की सुकुमाया गिरी हुनभनि बताएपछि प्रहरी टोलीले उनीहरुलाई सोही दिन घरबाट पक्राउ गरेको थियो । उनीहरुको घर खानतलासी गर्दा लागुऔषध गाँजा २६ के।जी। ९०० ग्राम, चरेश २८० ग्राम, लागुऔषध जस्तो देखिने धुलो २० ग्राम, नगद रु। ३६,५००, फलामको तराजु १ थान, हरिणको सिंङ्गको टुक्रा १ थान समेत फेला पारेको छ ।

यस्तै पक्राउ परेका सुकुमाया गिरीलाई गाँजा बिक्री गरे वापतको रकम लिन आउने क्रममा सोही दिन सोही स्थानबाट मकवानपुर सरिखेत गाविस–५ बस्ने वर्ष ३३ का कृष्ण थिङलाई समेत प्रहरीले पक्राउ गर्न सफल भएको छ । पक्राउ परेकाहरुको आधारमा लागुऔषध गाँजा ओसार पसार गर्नको निम्ति हाल बढि उमेरका महिलाहरु तथा बालकहरुको प्रयोग गर्ने गरिएको पुष्टी भएको छ ।