माडीमा भोलीदेखि माछा महोत्सव तथा कृषि उपज प्रदर्शनी मेला

विप्लव काफ्ले
चितवन, ०६ फागुन । माडीमा शुक्रबारदेखि माडी माछा महोत्सव तथा कृषि उपज प्रदर्शनी मेला हुने भएको छ । माडी बसन्तपुरको खुल्ला चौरमा सुरु हुन लागेको महोत्सव तथा प्रदर्शनी मेला ९ गतेसम्म सञ्चालन हुनेछ । माछाका लागि पकेट क्षेत्र मानिएको माडीमा हुन लागेको सो महोत्सवमा माछाका परिकार, मत्स्यपालन सम्बन्धी प्रविधि, माछाका परिकारको स्वाद लिनसक्ने गरि २० भन्दा बढी स्टलहरु रहनेछन् । महोत्सवको उद्घाटन विहान ११ बजे कृषि विकास मन्त्री हरिवोल गजुरेलले गर्ने आयोजकले जनाएको छ । महोत्सव परिसरमा करिब ५० वटा स्टलहरु रहनेछन् ।
माडी माछा महोत्सव तथा कृषि उपज प्रदर्शनी मेला मुल आयोजक समितिका संयोजक दिलिप कुमार थापाले माछापालन व्यवसाय प्रर्वद्धन गर्ने गरि महोत्सव गर्न लागिएको बताए । महोत्सव अवलोकनका लागि कुनै टिकट शुल्क लाग्नेछैन । अवलोकनकर्ताहरुलाई माछाका परिकार बनाउन सिकाउने, माछापालनको अवस्थाबारे बुझाउने गरि विभिन्न कार्यक्रहरु समेत गरिने उनले जानकारि दिए । स्थानिय किसानहरुले भुरा उत्पादक केन्द्र, चिस्यान सहितको माछा संकलन केन्द्र, उन्नत विउ संकलन तथा प्रशोधन केन्द्र स्थापनाका लागि मन्त्रीलाई ध्यानाकर्षणसमेत गराउदै छन् ।
महोत्सवका प्रर्वद्धक ओमनाथ पाण्डेले कृषिउत्पादन बढी हुने माडी क्षेत्रमा कृषि बजार व्यवस्थापन, किसानलाई प्रोत्साहन गर्न महोत्सव सफल हुने दावी गरे । भरतपुरमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष जोगेन्द्र महतोले माछापालक किसानहरुलाई महोत्सवले ज्ञान अनुभव साटासाट गर्नसघाउने विश्वास गरे ।
महोत्सव अन्तर्गत कृषि उपजहरुको प्रतियोगिता, अन्तर कृषक समूह लोकगित प्रतियोगिता हुनेछन् । यस्तै राष्ट्रिय कलाकारहरु जीवन शर्मा, राधिका हमाल, राजन विरही गुरुङ, आरके खत्री लगायतको सांस्कृतिक प्रस्तुती रहने जनाइएको छ । माडी क्षेत्र धार्मिक तथा पर्यापर्यटनको प्रशस्त सम्भावना बोकेको क्षेत्र पनि हो । महोत्सव अवलोकनकर्ताहरुले गोपालनगर, हरिनगर, गौरीनगर, दिवानगर, शिवद्धार, सिमरा, चम्फाबार लगायतका माछा पकेट क्षेत्रहरुको स्थलगत भ्रमण समेत गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published.