बैक तथा वित्तिय संस्थाले किसान ठगे

चितवन, ०६ फागुन । राष्ट्रिय व्यवसायीक पशुपालन तथा दुध उत्पादक कृषक समाज नेपालले बहुमुखी मोडेलबाट नेपालमा पशुपालन तथा दुध उत्पादनको क्षेत्रमा विकासगरी राष्ट्रलाई समग्र कृषिमा आत्म निर्भर बनाउन सकिने बताएको छ ।

पशुहरुका मलमुत्र, कम्पोष्टमल खेतवारीमा प्रयोग गरी अर्गानिक खाद्यन्न, फलफुल, तरकारी काष्ठ उत्पादन लगायत अन्य धेरै कुरा बाट मुनाफा लिई पशुपालन दुध उत्पादनको क्षेत्रमा फास्ट ट्रयाक मार्फत विकास गर्न सकिने राष्ट्रिय ब्यवसायीक पशुपालन तथा दुध उत्पादक कृषक समाज नेपालका केन्द्रिय अध्यक्ष आनन्द न्युरेले बताएका छन् ।
राज्यले कृषकलाई सहि सम्बोधन गर्न सके आगामी ३ वर्ष भित्र मुलुक कृषिमा आत्म निर्भरबन्ने उनले ठोकुवा गरे । नेपालमा पशुपालन दुध उत्पादक क्षेत्रले कुल ग्राहस्थ उत्पादनको नौ प्रतिशत क्षेत्र ओगटेको बताउदै उनले व्यवसायिक पशुपालन तथा दुध उत्पादनको व्यापक सफलताको सम्भावना रहेको बताउदै पाँच जिल्ला एक कृषि उत्पादनलाई प्रयोग गरी शिक्षित युवा शक्तिले देशैमा कमाउने बातावरण तयार गर्न राज्यलाई आग्रह गरे ।
नेपाल राष्ट्रवैंक, विभिन्न वैंक तथा वित्तिय संस्थाहरु, विभिन्न उद्योगी, संघ संस्था तथा नेपालका राजनैतिक दलहरुले कृषिपेशालाई सकारात्मक दृष्टिकोण बाट हेर्न सके मुलुक बिकासको गतिमा दर्गुने उनको भनाई थियो । नेपाल सरकारले कृषि विमा कार्यक्रम लागु गरि केही हौसला प्रदान गरेको भएपनि बैंक तथा वित्तिय संस्थाले आफुहरुमाथी ठगि गरेको उनि बताउछन् ।
वैंक वित्तिय संस्थाले नेपाल राष्ट्र वैंकको आदेश अनुरुप सरकारको निर्णयका आधारमा सर्वसुलव कृषि कर्जा प्रक्रियामा किसानलाई सहभागी बनाउनु पर्नेमा उनको जोड छ । बैंक तथा बित्तिय संस्थाले कृषकलाई दुःख दिने, कमिसन बिना ऋण नदिने प्रबृतिको बिकास भएकाले किसान संकटमा परेको कृषक समाज नेपालका केन्द्रिय सदस्य खगराज पाठकले बताए ।
नेपालमा व्यवसायीक पशुपालन दुध उत्पादन गर्ने फार्महरुको संरक्षण नभए देशको आर्थिक उन्नती हुन नसक्ने बताउदै उनले देशै भरिका व्यवसायिक पशुपालक किसानहरु, दुध सहकारीहरु, दुध उद्योगहरुलाई सकारात्मक सहयोग गर्न समेत सबै निकायहरु संग आग्रह गरेका छन् ।
यसैबिच चैत्र १२ गते राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुध उत्पादक कृषक समाज नेपालको राष्ट्रिय साधारण सभा चितवनमा हुने भएको छ । साधारण सभाको तयारी थालिएको केन्द्रका अध्यक्ष न्युरेले जानकारी दिए ।