सौराहामा साहासिक मनोरञ्जनात्मक हवाई खेल प्यारा मोटर

राजेन्द्र आचार्य
चितवन, ०६ फागुन । साहासिक मनोरञ्जनात्मक हवाई खेल अब देखि चितवनमा खेल्न पाईने भएको छ ।
पोखरामा मात्रै समिति रहेको यो खेल अब चितवनमा आउने पर्यटकहरुले पनि खेल्न पाउने भएका हुन् ।
झण्डै दुई बर्षको अथक प्रयासपछि जिल्लामा नै पहिलो पटक प्यारा मोटर नेपाल प्रा.लि. नामक संस्थाले अनुमति पाएको हो ।
साहासिक मनोरञ्जनात्मक हवाई खेलको उडानका लागि चितवनमा नै पहिलो पटक प्यारा मोटर अनुमति दिईएको हो ।
मुलुकको तेश्रो पर्यटकीय गन्तव्यको रुपमा परिचित सौराहामा पर्यटकहरुलाई थप आर्कषित गर्न संस्कृति नागरिक तथा पर्यटन मन्त्रालयले जिल्लामा नै पहिलो पटक अनुमति दिएको हो ।
साहासिक मनोरञ्जनात्मक हवाई खेल झण्डै दुई दशक लामो अनुभव संगालेका प्यारा मोटर पाईलट करणजंग क्षेत्रीले स्थापना गरेको प्यारा मोटर नेपाल प्रा.लि.ले चितवन र पोखरामा उडान गर्न पाउने भएका हुन् ।
तेश्रो पर्यटकीय गन्तव्यको रुपमा परिचित चितवनको सौराहामा साहासिक मनोरञ्जनात्मक हवाई खेल प्यारा मोटरमा उडेर रमाउनुका साथै जिल्लाको रमणीय दृश्यालोकन समेत गर्न पाईने भएको प्रा.लि.का सञ्चालन एवं प्यारा मोटर पाईलट करण जंग क्षेत्रीले जानकारी दिए । उनले पर्यटकीय आकर्षणका कारण मनोरञ्जनपूर्ण हवाई खेल सञ्चालन गरेको प्रष्ट पारे ।
यस अघि नै गत बर्षको माघमा परिक्षण उडान सफल रुपमा गरे पनि सौराहामा सुरु दशौ सौराहा फुड फेष्टिवलको अवसरमा प्यारा मोटरबाट पुष्प बर्षा गर्दे उनले प्यारा मोर्टस् औपचारिक रुपमा चितवनमा उडान सुरु गरेको जानकारी समेत गराए ।
पर्यटकहरुले प्यारामोटरबाट एकसाथ प्यारामोटर, अल्ट्रालाइट र प्याराग्लाइडिङ मज्जा लिन पाउने उनको दावी छ ।
छिटै पूर्ण रुपमा नियमित उडानमा आउन केहि समय लाग्ने भएपनि पर्यटकहरुको माग अनुसार उडान गरिरहने उनले बताए ।
हवाई खेल अन्तर्गत अल्ट्रालाइट, माइक्रोलाइट, प्यारामोटर, स्ट्रङ्ग प्याराग्लाइडर र स्काइमोटर पर्ने गर्दछन् उनले भने–जसमध्ये अहिले चितवनमा प्यारामोटर सुरु गरेको छु ।
सौराहामा आउने पर्यटकले जंगल सफारी, जीप सफारी, हात्ती सफारी र ढुङ्गा सफारीसगै प्यारा मोटरले गर्दा पर्यटकहरुको बसाई लम्बाउने समेत भएकोले प्यारा मोटर आउदा आफुहरु उत्साहित भएको क्षेत्रिय होटल संघका अध्यक्ष ज्ञानेन्द्र कुमार विष्टले बताए ।
सौराहामा नयां कार्यक्रमहरु थ्प गर्न नसकिरहेको अवस्था प्यारा मोटरले गर्दा थप पर्यटकहरु वृद्धि हुने रेवान सौराहाका अध्यक्ष लालबहादुर भट्ट (राजन ) ले बताए ।
प्यारा मोटर सञ्चालनको अवसरमा कम्पनीले पर्यटकहरुका लागि १० प्रतिशत सम्म छुट व्यवस्था गरेको सञ्चालन क्षेत्रीले जानकारी दिए ।
सौराहाको आकाशमा प्यारा मोटरमा २० देखि २५ मिनेट उड्न नेपालीलाई
४५ सय रुपैया र विदेशीलाई ७५ सय रुपैया सेवा शुल्क तोकिएको छ ।
प्यारा मोटर सञ्चालन भएसगै सौराहाका पर्यटन व्यवसायीहरु प्नि उत्साहित भएका छन् । क्षेत्रीले भारतीय सेनामा रहदा देखि प्यारा मोटरसगै अन्य हवाई खेलमा पोख्त रहदै आएका थिए । नेपालमा मनोरञ्जनात्मक हवाई खेल वर्षायामका २ महीनाबाहेक अन्य सबै मौसममा सञ्चालन गर्न सकिने उनले बताए । नेपालमा सन् १९९० मा पहिलो पटक बिरू बम्जनले प्याराग्लाडिङ शुरू गरेका थिए । तर, सन् १९९८ मा आएर मात्र संस्थागत रूपमा प्याराग्लाइडिङ व्यवसाय अघि बढेको ईतिहासमा छ ।