वातावरण सफा राखौँ

 
भनिन्छ नि जहाँ स्वच्छ सफा हुन्छ त्यहाँ ईश्वरको बास हुन्छ । सफा राख्नु सभ्य हुनुको पहिचान पनि हो । पछिल्लो समय नगर तथा गाउँलाई पूर्ण सरसफाई घोषणा गर्ने प्रयास भइरहेको छ । यो प्रयासमा हामी सबैको साथ र सहयोग जरुरी देखिन्छ । व्यक्ति–व्यक्ति, परिवार–परिवार र समाज मिलेर सरसफाई अभियानलाई पूर्णता दिनु हामी सबैको कर्तव्य हो । आफ्नो ठाउँ सफा राख्न सकियो भने वातावरण समेत सुन्दर हुन्छ ।
हामी आफ्नो घर, आँगन सफा गर्छौँ तर घर अगाडिको सडक किनार सफा गर्दैनौं । घर अगाडिको सडक किनार सफा गर्नको लागि सरकारी निकाय वा अन्य संघसंस्थाको बाटो कुरेर बस्ने हामी सबैको बानी परिसकेको छ । बाहिरका मान्छे वा संघ संस्थाले एक दिन आएर सफा गरिदिदैमा हाम्रो टोल÷नगर सफा हुँदैन । एक छिनको सफाईले सधैंभरी हाम्रो वातावरण फोहोर मुक्त बन्न सक्दैन । आफ्नो गाउँ, टोल र नगर सफा गर्न त्यहीँका स्थानीय बासिन्दा जागरुक हुनु पर्छ ।
जबसम्म हामीले निकाल्ने फोहोरको हामी आफै व्यवस्थापन गर्न सक्दैनौँ, बाहिरका मान्छे आएर सफा गर्दैमा हाम्रो समाज र वातावरण सफा हुँदैन । सफा वातावरण कसलाई पो मन पर्दैन र ? सफा ठाउँ आकर्षक अनि मनमोहक हुने गर्दछ । हामी बस्ने ठाउँ वरपर सफा गर्न सकेको अवस्थामा वातावरण प्रदुषणमात्र होइन, रोगव्याधीबाट पनि जोगिन सकिन्छ । नेपालका केही नगरपालिकामा सफा र फोहोर जनाउने सांकेतिक चिन्हहरु प्रदान गर्न थालिएको छ ।
घर र घर अगाडिको वातावरण सफा र सुन्दर भएको अवस्थामा ‘आहा’ र फोहोर भएको भए ‘छि’ भन्दै घरमा स्टिकर टाँस गर्ने प्रचलन बढ्दै गएको छ । यसरी स्टिकर टाँस गर्दा व्यक्तिलाई सफाई गर्न अग्रसर गराउँछ । लाजले भएपनि मानिसहरु सफाई गर्न जागरुक हुन्छन् । सरसफाई गर्नको लागि स्थानीय व्यक्तिलाई नै परिचालन गर्नु आवश्यक छ । सबै मिलेर सफाई अभियान सञ्चालन गर्न सकियो भने एक दिन सफा र सुन्दर गाउँ÷टोल÷नगर स्थापित हुनेछ ।

Leave a Reply

Your email address will not be published.