जोखिम मोल्दै इट्टा भट्टाहरुमा काम गर्न मजदुरहरु बाध्य

चितवन, २९ माघ । नेपालमा २९ प्रतिशत मानिसहरु गरिबीको रेखामुनी रहेका छन् । गरिबीकै कारण ज्याला मजदुरी गरेर जिविका चलाउनेहरुको संख्या पनि धेरै रहेको छ ।itta-3

सिकर्मी, डकर्मी, लगायतका कामहरु गर्ने, अर्काको घरमा गएर घरेलु श्रमिकको रुपमा काम गर्ने, इट्टा भट्टाहरुमा काम गर्ने आदि विभिन्न प्रकारका मजदुरहरु हाम्रो समाजमा रहेका छन् । आफ्ना परिवार चलाउन र बालबच्चाहरु पढाउन ज्याला मजदुरी गर्नेहरुको गरिबीको समस्या संगै काम गर्ने क्रमका भोगेका आफ्नै समस्याहरु रहेका छन् ।

अहिले देशका विभिन्न ठाउंहरुमा रहेका इट्टा भट्टाहरुमा मजदुरको रुपमा काम गरेर आफ्ना परिवार पाल्ने र बालबच्चाहरु पढाउनेहरुको पनि आफ्ने समस्या छ । चितवनमा पनि विभिन्न क्षेत्रहरुमा रहेका इट्टा भट्टाहरुमा धेरै महिला तथा पुरुषहरु ज्याला मजदुरी गरिरहेका छन् । दिन रात नभनी काम गर्दा पनि मुश्किलले खाना समेत नपुग्ने यिनीहरु जाडो महिनामा पनि रातको १२ बजेदेखी उठेर काममा लाग्दछन् । चितवनको राप्ती नगरपालिकामा रहेको इट्टा भट्टामा काम गर्ने सिन्धुलीका ३४ वर्षका मंगलबहादुर माझीले इट्टा भट्टामा नै काम गरेर आफ्नो परिवार पालिरहेका छन् ।

आफ्नी श्रीमती सनिता माया माझी र माइला छोरा अर्जुन बहादुर माझी संगै इट्टा भट्टामा काम गरिरहेका मंगलबहादुरको परिवार रातको १२ बजेदेखी इट्टा बनाउन व्यस्त हुन्छन् । तर पनि १० दिनको एक जनाको जम्मा १ हजार रुपैंया हातमा पर्दछ । त्यही पैसाले रासन पानी किनेर खानुपर्ने माझी परिवारले आफ्ना ६ जना छोराछोरी मध्ये ५ जनालाई विद्यालयमा मुश्किलले पढाइरहेको छ ।

आजसम्म भविष्यको लागि पेसा सिञ्चित गर्न नसकेको बताएका मंगलबहादुर गत कार्तिकमा सिन्धुलीबाट चितवन आएर इट्टा भट्टामा काम गरेका हुन् ।
साहुहरुले कांचो दाउरा लिन जांदा समेत कराउने, खाना पकाउने दाउरा समेत लुकी लुकी ल्याउनु परेको यि मजदुरहरुलाई चिसोमा काम गर्न परेकै कारण घुंडा दुख्ने, टाउको दुख्ने, जस्ता विभिन्न समस्याहरु रहेका छन् ।

आफ्ना बालबालिकाहरुलाई भने विभिन्न संघ संस्थाले भट्टा नजिकै स्थापना गरिदिएको बाल विकास केन्द्र तथा विद्यालयहरुमा पढाएका यिनीहरुले बालबच्चाहरुलाई सन्तुलित आहार समेत खुवाउन समस्या रहेको छ । इट्टा भट्टामा नै काम गर्दै आएका सिन्धुली कै अर्का मजदुर लक्ष्मण माझीको पनि उस्तै व्यथा छ ।

माटो खन्ने, इट्टा बनाउनको लागि त्यसलाई तयार गर्ने र इट्टा बनाउने काममा २ वर्षदेखी काम गर्दै आएका लक्ष्मणका अनुसार काम गर्दा विभिन्न जोखिमहरुको सामना गर्नपर्दछ । माटो खन्ने समयमा पनि सिसाका टुक्राहरु, पत्ति, अदिले हातहरु काट्ने सम्भावना पनि उत्तिकै रहने गर्दछ ।