ज्योती मगरले उफारिन् दर्शक (तस्वीर सहित)

चितवन, माघ २९ । भरतपुरमा जारी चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७२ को विहीबार पाँचौ दिन विल्कुलै फरक माहोल थियो प्रदर्शनी परिसरमा । अन्य दिनको तुलनामा दर्शकको चाप पनि बढि नै थियो कारण अहिलेको चर्चित गायिका तथा मोडेल ज्योती मगर ।
ज्योती मगर स्टेज चढ्ने वित्तिकै दर्शकहरु हौसिए । ‘उही मुलाको चाला’ बोलको गीत गाउँदै स्टेजमुनी ओर्लिएपछि बसि रहेका दर्शकहरु भकाभक उठे । त्यसपछि सुरु भयो ज्योतीमय माहोल । दर्शकहरुलाई बारबाट जोगाउन प्रहीलाई हम्मे हम्मे परेको थियो । ज्योतीले जिम्बल बाउँको छोरी, ढाँडे बिरालो, पहिलो भेटलगायत आधा दर्जन गीत प्रस्तुत गरिन् ।
यस्तै प्रदर्शनीमा अर्की गायिका सरु बन र गायक भुवन प्यासीले पनि दर्शकलाई नचाए । गायक प्यासीले ‘ए काली’ लगायत बोलका आर्धा दर्जन भन्दा बढि गीत गाए । यसैगरि साँस्कृतिक कार्यक्रम अन्तरगत आज रत्ननगर कलामन्दिरको प्रस्तुती समेत भएको थियो ।
प्रदर्शनीको छैटौं दिन भोली (शनिबार) पनि भव्य साँस्कृतिक कार्यक्रम हुँदै छ । भोली चर्चित हास्यकलाकार जिरे खुर्सानी टिम, गायक नेत्र जी पन्त र राष्ट्रिय औद्योगिक प्रदर्शनी डान्सिङ स्टार–२०७२ अन्तरगत ६ जना प्रतियोगिको प्रस्तुती रहने कला तथा साँस्कृतिक समितिका संयोजक लक्ष्मण अर्यालले जानकारी दिनुभयो ।
औद्योगिक प्रदर्शनीमा दिनप्रतिदिन बढ्दै दर्शक
यही माघ २५ गतेदेखि औद्योगिक प्रदर्शनी मैदान भरतपुरमा जारी चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७२ सकिनै लाग्दा दर्शकहरुको उपस्थिति झनै बढ्दो छ ।
प्रदर्शनीको पाँचौ दिन शुक्रबार दर्शकहरु प्रदर्शनी स्थलमा खचाखच भरिएका थिए । औद्योगिक विषयमा जानकारी लिनुको साथै मनोरञ्जन पनि पाईने भएकाले दर्शकहरुको उपस्थिति बढ्दै गएको प्रदर्शनी प्रचार–प्रसार समितिका संयोजक मदन घिमिरेले जानकारी दिनुभयो । उहाँले उद्योग स्थापना गर्न चाहनेलाई यो प्रदर्शनी कोशे ढुंगाा सावित हुने दावी गर्नुभयो ।
यसपटक प्रदर्शनीलाई विशुद्ध औद्योगिक प्रदर्शनीको रुपमा अगाडि बढाईएकोले दर्शकहरुले निकै चासोका साथ प्रदर्शनीको अवलोकन गरेका छन् । यसपटक धुलो धुवाँरहितका स्टल निर्माण गरिएका छन् । जसले गर्दा दर्शक र प्रदर्शक दुवैलाई सहज भएको छ । प्रदर्शनीमा विभिन्न प्रकारका गरि करिव २०० स्टलहरु रहेको प्रदर्शनी मुल समितिका संयोजक भीमबहादुर पाण्डेले जानकारी दिनुभयो ।
प्रदर्शनीमा विशेषगरि उत्पादनमुलक उद्योग परिसर, निर्माणजन्य उद्योग परिसर, कृषिजन्य उद्योग परिसर, सेवा÷प्रविधिजन्य उद्योग परिसर, विविध व्यापारीक परिसर रहेका छन् । यसपटकको प्रदर्शनीमा अवलोकन गर्नका लागि सर्वसाधरणका लागि रु.५० को टिकट र विद्यार्थीहरुको लागि रु. ३० को टिकटको व्यवस्था गरिएको छ ।