लागु औषध कारोबार नियन्त्रणमा चितवन प्रहरीलाई सफलता

चितवन, २७ माघ । चितवनमा लागु औषध कारोबार नियन्त्रणमा चितवन प्रहरीलाई सफलता मिल्दै गएको पाईएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको हालसम्म लागु औषध कारोबारमा संलग्न व्यक्ति पक्राउ गर्न प्रहरीलाई ठूलो सफलता मिलेको हो ।

प्रहरीले चालु आर्थिक वर्ष २०७२/७३को माघ २४ गतेसम्म लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा ३० वटा मुद्दा दर्ता गराएको छ । लागु औषध कारोबारमा प्रहरीले ४६ जना आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताएका छन् । पक्राउ परेका सबैलाई लागु औषध कारोबार अन्तर्गतको मुद्दा दर्ता गरिएको कुँवरले जानकारी दिए ।

यस अवधीमा प्रहरीले विभिन्न समयमा गरी पाँच सय ३९ एम्पुल डाइजापाम, पाँच सय १९ एम्पुल व्युप्रिनोफिन, पाँच सय १६ एम्पुल फेनारगन, १० एम्पुल मरफाइन, १६ एम्पुल स्टागन, चार ग्राम खैरो हिरोइन, चार सय ११ ट्याब्लेट नाइट्राजेपाम, एक सय २४ ट्याब्लेट लोराजेपाम, सात सय १० ट्याब्लेट क्लोनाजेपाम, एक लिटर कोरेक्स, आठ किलो दुई सय २६ ग्राम गाजालगायतका लागु औषध पक्राउ गरेको कुँवरले जानकारी दिएका छन् ।

यसै अवधीमा प्रहरीले चितवनका विभिन्न स्थानमा लगाएको गाजा नष्ट गरेको छ । प्रहरीले मंसिर २६ गते कोराक र लोथर गाविसका विभिन्न स्थानमा १० बिघाहा क्षेत्रफलमा लगाएको गाजा नष्ट गरेको हो ।

Leave a Reply

Your email address will not be published.