प्रदर्शनीमा दोस्रो दिन दर्शकको उत्साहजनक सहभागिता

चितवन, माघ २६ । सोमबारदेखि भरतपुरको औद्योगिक प्रदर्शनी मैदानमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७२ को दोस्रो दिन आज पनि जारी रह्यो । आज दर्शकहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

यसपटक प्रदर्शनीलाई विशुद्ध औद्योगिक प्रदर्शनीको रुपमा अगाडि बढाईएकोले दर्शकहरुले निकै चासोका साथ प्रदर्शनीको अवलोकन गरेका छन् । यसपटक धुलो धुवाँरहितका स्टल निर्माण गरिएका छन् । जसले गर्दा दर्शक र प्रदर्शक दुवैलाई सहज भएको छ । प्रदर्शनीमा विभिन्न प्रकारका गरि करिव २०० स्टलहरु रहेका छन् ।

प्रदर्शनीमा आज साँस्कृतिक कार्यक्रमहरु हुने तय भएपनि नेपाली काँग्रेसका सभापति एवंम् पूर्व प्रधानमन्त्री शुशील कोइरालाको निधनका कारण कार्यक्रम गर्न नसकिएको कला तथा साँस्कृतिक समितिका संयोजक लक्ष्मण अर्यालले जानकारी दिनुभयो ।

प्रदर्शनीमा विशेषगरि उत्पादनमुलक उद्योग परिसर,  निर्माणजन्य उद्योग परिसर,  कृषिजन्य उद्योग परिसर, सेवा÷प्रविधिजन्य उद्योग परिसर, विविध व्यापारीक परिसर रहेका छन् । यसपटकको प्रदर्शनीमा अवलोकन गर्नका लागि सर्वसाधरणका लागि रु.५० को टिकट र विद्यार्थीहरुको लागि रु. ३० को टिकटको व्यवस्था गरिएको छ ।