नेपालमा औद्योगिक क्षेत्रको योगदान घट्दो क्रममा

चितवन, २६ माघ । चितवन उद्योग संघको आयोजनामा जारी चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७२ अन्तरगत आज (मंगलबार) ‘नाकाबन्दीले अर्थतन्त्रमा पारेको प्रभाव र आगामि कार्यदिशा’ विषयक गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले कार्यपत्र प्रस्तुत गर्दै लामो समयको नाकाबन्दीले आर्थिक क्षेत्र शिथिल भएपनि निजी क्षेत्र अझै निरुत्साहित नभएको बताउनुभएको छ । उहाँले अब नेपालको विकासका लागि औद्योगिक क्षेत्रको प्रवद्र्धन गर्न आवश्यक रहेको औल्याउँदै यसप्रति सरकार अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले पूँजीगत खर्च समयमा नहुने प्रवृतिले नेपालको पूर्वाधार विकासमा दक्षिण एशियाकै कमजोर बनेको बताउनुभयो ।

उपाध्यक्ष शर्माले पछिल्लो समय औद्योगिक क्षेत्रको योगदान निरन्तरत कम हुँदै आईरहेको भन्दै यो नेपालका लागि निकै चिन्ताको विषय भएको बताउनुभयो । उहाँका अनुसार विगतमा १३ प्रतिशत योगदान दिएको औद्योगिक क्षेत्र अहिले घटेर ५.२ प्रतिशतमा झरेको छ । यसले गर्दा नेपालमा औद्योगिक क्षेत्रको पहुँच बढाउनुपर्ने देखिन्छ ।

उपाध्यक्ष शर्माले वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट पर्यटकिय गन्तव्यहरु सुरक्षित रहेको भन्दै सकरात्मक प्रचारको जरुरी रहेको बताउनुभयो । “पर्यटन बजारमा धेरै स्थलहरु सुरक्षित छन्, अहिले बढि नकरात्मक प्रचार भएर समस्या आएको हो”–शर्माले भन्नुभयो ।

कार्यक्रममा बोल्दै शर्माले नेपालमा हरेक क्षेत्रमा प्रचुर सम्भावना भएकोले यहाँको विकासका लागि उद्योगको विकास अनिवार्य रहेको बताउनुभयो । उहाँले नेपालमा भौतिक पूर्वाधारको विकास पनि अह्म रहेको बताउनुभयो । उहाँले नेपालमा औद्योगिक क्षेत्रको विकास नभएसम्म रोजगारीको वातावरण सिर्जना हुन नसक्ने भन्दै यसले यवाहरुलाई विदेश पलायनबाट रोक्न नसकिने बताउनुभयो । उहाँले नीतिगत स्थायित्वको लागि साझा आर्थिक अवधारणा आवयश्यक रहेको बताउनुभयो । नेपालमा शान्ति र आर्थिक वृद्धिदर गर्नु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ पर्यटन अधिकृत लेखनाथ भुषालले नेपालमा आर्थिक वृद्धिदर विकास लागि सरकार र निजी क्षेत्रसंगको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले पर्यटन बोर्डले अहिले गाउँ क्षेत्रको पर्यटनमा जोड दिएको बताउँदै हरेक क्षेत्रमा नयाँ–नयाँ सम्भावनाको खोजी कार्य भईरहेको बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरुले गुणस्तरमा कुनै कन्जुस्याई गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रका अगुवा व्यक्तिहरुले नेपालको आर्थिक क्षेत्रको विषयमा आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा उद्योगी व्यवसायी, शिक्षा, स्वास्थ्य, कृषि, बैङकिङ लगायतका क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । गोष्ठी कार्यक्रम गोष्ठी संयोजक ताराप्रसाद पौडेलेको अध्यक्षतामा भएको थियो ।