काग्रेस महाधिवेशन अपडेट

 
कावासोती, २४ माघ । नेपाली काँग्रेसको १३ औं महाधिवेशनका लागि भएको क्षेत्रिय निर्वाचनमा नवलपरासीमा देउवा पक्ष बलियो देखिएको छ । ६ निर्वाचन क्षेत्र रहेको नवलपरासीमा ४ वटा निर्वाचन क्षेत्रमा देउवा पक्षका सभापतिहरु निर्वाचित भएका छन् । भने दुई वटा निर्वाचन क्षेत्रमा मात्र संस्थापन पक्षका सभापति निर्वाचित भएका हुन् ।

क्षेत्र नं. १ बाट दोणवन सन्यायी, क्षेत्र नं. २ बाट दुर्गाबहादुर राना, क्षेत्र नं. ३ बाट जगतबहादुर कार्की, क्षेत्र नं. ४ बाट नरेन्द्रकुमार गुप्ता, क्षेत्र नं. ५ बाट निदेशमणी पट्टेल र क्षेत्र नं. ६ बाट मुकुलकुमार आचार्य सभापतिमा निर्वाचित भएका छन् । क्षेत्र नं. १ र २ बाहेकका सभापतिहरु देउवा पक्षका हुन् ।

क्षेत्रिय अधिबेशनकाबाट महिला नेतृ ओमकला गौतम, तरुणदल नवलपरासीका सभापति अमृत भट्चन , नेविसंघका केन्द्रीय सदस्य गोकुल सापकोटाले चुनाव हारेका छन् । गौतम बाहेक दुई जना संस्थापन पक्षका हुन् ।
७२ जना महाधिबेशन प्रतिनिधिमा देउवा पक्षका ४० जना निर्वाचित भएका छन् भने संस्थापनको ३२ जना रहेका छन् । क्षेत्र नं. १ मा दुई जना बाहेक सबै संस्थापन , क्षेत्र नं. २ मा पुरै संस्थापन पक्ष, क्षेत्र नं. ३ मा बराबर, क्षेत्र नं. ४मा पुरै देउवा पक्ष, क्षेत्र नं. ५ मा एक जना बाहेक सबै देउवा पक्ष, क्षेत्र नं. ६ मा ३ जना बाहेक सबै देउवा पक्ष निर्वाचित भएका छन् ।

काँग्र्स नेता एवं नवलपरासीका सांसद डा. शसांक कोइराला र केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली संस्थापनका नेताहरु भएको जिल्लामा संस्थापन पक्ष कमजोर देखिएको हो । उपसभापति रामचन्द्र पौडेलको सभापतिमा उम्मेदवारी घोषणाले गर्दा यहाँ देउवा पक्ष बलियो देखिएको आकलन गरिएको छ । संस्थापनमा पौडेल निकटका पूर्व सांसद महेन्द्रध्जव जिसी र कोइराला निकट महेन्द्रभक्त अधिकारीले छुट्टाछुटै सभापतिमा उम्मेदवारी घोषणा संगै यहाँको समीकरण बदलिएको हो ।

अधिकारीले देउवा पक्षका वर्तमान सभापति देबेन्द्रराज कण्डेल र क्षेत्र नं. ५ का सांसद बिक्रम खनाललाई राखेर उम्मेदवारी घोषण गरेका थिए । उम्मेदवार घोषणामा आफ्नो टीमको स्पिडलाई अधिकारीले साथ दिए उनैलाई सभापतिमा समर्थन गरेर जाने वर्तमान सभापति कण्डलले घोषणा गरेका छन् । अधिकारीले भने कण्डेलको साथ रहेकाले सभापतिमा आफ्नो जित सुनिश्चित भएको दावी गरेका छन् ।