एउटै सरकार चार/पाँच वर्ष रहे गरिबीको सङ्ख्या घट्छ : उपप्रम केसी

चितवन, २४ माघ । उपप्रधानमन्त्री चित्रबहादुर केसीले भूकम्प र नाकाबन्दीले गरिबको सङ्ख्या बढाएको बताएका छन् ।
पत्रकारसँग आज यहाँ साक्षात्कार गर्दै सहकारी तथा गरिबी निवारणमन्त्री केसीले देशमा २५ प्रतिशत जनता गरिबीको रेखामुनि रहेकामा अहिले यो सङ्ख्या बढेर गएको बताए ।
कति बढ्यो यकिन नभए पनि देशभर यसको प्रभाव रहेको भन्दै उनले पहाड भूकम्पले र तराई नाकाबन्दीले प्रभावित बनाएको बताए ।
सरकारले २५ जिल्लामा गरिब परिवारको तथ्याङ्क सङ्कलन गरिरहेको जानकारी दिँदै उनले उनीहरुलाई यसै वर्षभित्र र आउँदो वर्ष बाँकी ५० जिल्लामा लगत सङ्कलन गरी परिचयपत्र वितरण गरिने बताए ।
परिचयपत्र पाएकालाई शिक्षा, स्वास्थ्य, रोजगारीलगायतमा सरकारले सहुलियत र प्राथमिकता दिइने उल्लेख गर्दै उनले जसरी आरक्षणमा परेकाहरुले सुविधा पाएका छन् त्यसैगरी गरिबले पनि सुविधा पाउने छन् भने ।
स्थायी सरकारको अभावमा गरिबीको सङ्ख्या घट्न नसकेको बताउँदै उपप्रधानमन्त्री केसीले एउटै सरकार चार/पाँच वर्ष रहे गरिबीको सङ्ख्या विस्तारै घटेर जाने विश्वास व्यक्त गरे । ‘संविधान बनेसँगै ऐन नियम गरिबको पक्षमा छन्, अब स्थायी सरकार भयो भने नेपाली धेरै वर्ष गरिबीको रेखामुनि बस्नु पर्दैन’, उपप्रधानमन्त्रीले भभे । एउटा उद्देश्य लिने र अर्कै काम गर्ने सहकारी नियन्त्रण गरिने उनको भनाइ थियो ।
उनले भने, ‘प्रधानमन्त्री भारत जानुअघि सर्वदलीय बैठक हुन्छ भन्नुभएको छ, पार्टीको सुझाव सल्लाहअनुसार देशलाई असर पर्ने कुनै सन्धि, सम्झौता प्रधानमन्त्रीले गर्नुहुन्न ।’ रासस