चितवनको पुरानो मेडिकल कलेजमा नक्कली डाक्टर

चितवन, २३ माघ । चितवनको जिल्ला सदरमुकाम भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्स कलेज शिक्षण अस्पताल भरतपुर (पुरानो मेडिकल) मा कार्यरत एक जना डाक्टर नक्कली भएको प्रमाणीत भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान विभागको टोलीले गरेको अनुगमनमार सिराहा विष्णुपुर गाविस घर भइ कलेज अफ मेडिकल साइन्स कलेज शिक्षण अस्पताल भरतपुर (पुरानो मेडिकल), चितवनमा कार्यरत विनिता यादव नक्कली डाक्टर भएको खुल्न आएको हो ।CMS-Bharatpur
उनी सहित देशभर प्रमुख अस्पतालमा गरिएको अनुगमनमा  नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक भएका चितवनका यादव सहित १२ जना नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रवेशिका र प्रमाणपत्र तह नै उत्तीण नगरी नक्कली प्रमाणपत्रको आधारमा एमबीबीएस अध्ययन गरेका उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान विभागको टोलीले उनीहरुलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो ।
चितवनको पहिलो र पुरानो मेडिकलका नामले परिचित अस्पतालमा नै नक्कली डाक्टर भेटिनु गम्भीर विषय भएको विज्ञहरुको भनाई छ ।
पक्राउ पर्नेहरुमा झापा अनारमनी गाविस घर भइ बिएनसी हस्पिटल बिर्तामोड झापामा कार्यरत् रामबाबु गिरी, मोरङ कटहरी गाविस घर भइ पशुपति मोडेल अस्पताल इटहरीको प्रमुख भइ कार्य गर्दै आएका पशुपति चौधरी, सप्तरी कल्याणपुर गाविस घर भइ गोल्डेन अस्पताल विराटनगरमा कार्यरत् मोहम्मद कमरुल हक, सप्तरी बैरवा गाविस घर भइ कोसी अञ्चल अस्पताल मोरङमा कार्यरत् तुलसीकुमार महतो रहेका छन् ।
यसैगरी, धनुषा लोहना गाविस घर भइ ग्लोबल अस्पताल मिर्चैया सिराहामा कार्यरत् मोहम्मद अहमद सिद्धिकी, महोत्तरी हात्तीसर्वा गाविस घर भई जनकपुर अञ्चल अस्पताल जनकपुरमा कार्यरत् सन्तोषकुमार यादव, धनुषा जिल्ला जनकपुर नगरपालिका घर भइ चानसी मेडिकल हल जनकपुरमा कार्यरत् कल्याण विश्वास रहेका छन् ।
धनुषा जिल्ला जनकपुर नगरपालिका घर भइ अजित मेडिकल हल जनकपुरमा कार्यरत् भगवान केवट मल्लाह, धनुषा सत्तोखर गाविस घर भइ रामजानकी डेन्टल क्लिनिक जनकपुरमा कार्यरत् शैलेन्द्रकुमार महतो, कपिलवस्तु तौलिहवा नगरपालिका घर भइ स्वास्थ्य सेवा क्लिनिक तौलिहवा कपिलवस्तुमा कार्यरत् अफजल हुसैन, महोत्तरी औरही गाविस घर भइ ग्लोबल अस्पताल ग्वार्को ललितपुरमा कार्यरत् श्यामबाबु साह रहेका छन् ।

प्रमुख चिकित्सकहरुको दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएका परीक्षार्थीहरुले नक्कली प्रमाणपत्रहरुको आधारमा अध्ययन गरी सोही आधारमा चिकित्सक दर्ता प्रमाणपत्र लिइ चिकित्सक बनी काम कार्य गरेको, चिकित्सक दर्ता परीक्षा उत्तीर्ण नै नभइ बिना दर्ता प्रमाणपत्र रजिस्टर्ड चिकित्सक भनी ठगी गर्नेहरुको अनुसन्धानका क्रममा उनीहरु पक्राउ परेको ब्युरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले जानकारी दिए ।

ब्युरो, नेपाल मेडिकल काउन्सिल, उच्च माध्यमिक शिक्षा परिषद्द्वारा संयुक्तरुपमा अपरेसन क्वाक प्रारम्भ गरी छानबिन अनुसन्धान हुँदा विभिन्न तहका नक्कली प्रमाणपत्र पेस गरेका उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमध्ये नेपालबाट प्रवेशिका र प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र सार्व्जिक गर्ने एकजना, भारतबाट प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गर्ने, १० जना र भारतबाट प्रवेशिका परीक्षा र प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गर्ने एकजना रहेका छन् ।

उनीहरुमध्ये रसियाबाट एमबीबीएस गर्ने एकजना, चीनबाट पाँचजना, भारतबाट एकजना, पाकिस्तानबाट एकजना, बंगलादेशबाट एकजना र पाकिस्तानबाट एकजना रहेका छन् । तीमध्ये बिएनसी हस्पिटल बिर्तामोड झापामा कार्यरत् रामबाबु गिरीले फिलिपिन्सबाट एमडीसमेत गरेको खुलेको छ ।

चिकित्सा पेसामा संलग्न १५० भन्दा बढी व्यक्तिहरुको शंकास्पद शैक्षिक प्रमाणपत्रहरूको पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा उच्चमाध्यमिक शिक्षा परिषद्का सदस्यसचिव नारायणप्रसाद कोइराला, नेपाल मेडिकल काउन्सिलका सदस्य डा. कृष्णप्रसाद अधिकारीले जनमानसको स्वास्थ्य सेवाजस्तो गम्भीर विषयमा नक्कली चिकित्सक भइ काम गर्नु जघन्य अपराध भएको बताउँदै प्रहरीलाई आफ्नो तर्फबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल चिकित्सक संघको ध्यानाकर्षण
नेपाल चिकित्सक संघले चिकित्सा शास्त्रसम्बन्धी पढाइ सकेर देशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत् चिकित्सकलाई नक्कली चिकित्सक भएको आशंकामा पक्राउ गरिएकोबारे जतिसक्दो चाँडो छानबिन गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरेको छ ।

देशभरिका स्वास्थ्य संस्थाहरूमा कार्यरत् चिकित्सकहरूमा त्रास र भयको वातावरण सिर्जना भएको भन्ने गुनासो रहेकाले यस सम्बन्धमा पक्राउ परेका चिकित्सकउपर निष्पक्ष छानबिन गरी सत्यतथ्य पत्ता लगाउन सरकारसमक्ष महासचिव डा. मुक्तिराम श्रेष्ठद्वारा शनिबार जारी विज्ञप्तिमा अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published.