वीरगन्जबाट तेल लिन ट्यांकर रक्सौल जान थाले,

वीरगन्ज, माघ २३ । १ सय ३५ दिनपछि अवरोध छिचोल्दै वीरगन्ज–रक्सौल नाका खुलेपछि नेपाल–भारत दुबैतर्फका व्यापारीले राहत महसुस गरेका छन् ।
संविधान निर्माणका क्रममा आफ्ना मुद्दाहरु नसमेटिएको भन्दै आन्दोलनमा होमिएका केही मधेसी दलले ठूला राजनीतिक दलका नेतालाई गलाउन भन्दै दुई देशबीचको जीवनसँग जोडिएका सीमानाकामा चार महिनाभन्दा लामो समयदेखि अवरोध गर्दै आएका थिए ।
यसैबीच, शनिबार स्थानीय मधेसी मोर्चाका नेताहरुले सार्वजनिक गरेका बन्द र मसाल जुलुसको कार्यक्रम फिर्ता लिएका छन् ।
बन्दको कार्यक्रम स्थगित
शनिबार साँझ मसाल जुलुस गर्ने र आइतबार वीरगन्ज बन्द गर्ने तय भएको कार्यक्रम फिर्ता लिएको मधेसी मोर्चाका नेताले बताएका छन् ।
उनीहरुले केन्द्रबाट अर्को निर्णय नहुन्जेलसम्मका लागि भन्दै कार्यक्रम फिर्ता लिएका हुन् ।
नाकाबन्दीपछि वीरगन्जबाट पहिलोपटक ग्यास बुलेट भित्रिए
नाकाबन्दीपछि शनिबार दिउँसो पहिलोपटक वीरगन्ज–रक्सौल नाकाबाट ग्यासका बुलेट भित्रिएका छन् । ग्यासका तीन बुलेट नेपाल भित्रिएका हुन् ।
त्यस्तै, एउटा डिजेलको ट्यांकर पनि नेपाल भित्रिएको छ ।
मितेरी पुलमा झडप
शनिबार दिउँसो नाका बन्द गर्न मितेरी पुलमा गएका मधेसी मोर्चाका नेता तथा कार्यकर्तालाई स्थानीयबासिन्दाले लखेटेका छन् ।
मितेरी पुलमा नारा लगाउन खोज्दा भारतीय ढुवानीकर्ता र स्थानीयले विरोध जनाएपछि केहीबेर झडप भएको थियो ।
१० मिनेटको झडपपछि मधेसी मोर्चाका कार्यकर्ता फर्किएका थिए ।
भारतीय ढुवानी व्यवसायीले आन्दोलनकारीलाई लखेटे
वीरगञ्ज नाकामा धर्ना बस्न गएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तालाई भारतीय ढुवानी व्यवसायीले नाकाबाट लखेटेका छन् ।
मोर्चाको बारा पर्सा समितिको आह्वानमा कार्यकर्ताहरु मितेरीपुलमा धर्ना बस्न पुगेका थिए । शुक्रबार वीरगञ्ज नाका खोलाएको विरोधमा मोर्चाले शनिबार २ बजेदेखि पुनः नाकामा धर्ना बसी नाका अवरुद्ध पार्ने घोषणा गरेको थियो ।
ढुवानी व्यवसायीले लखेटेपछि केही बेर दुईतर्फी ढुंगा हानाहान भएको थियो । मोर्चाका कार्यकर्ता धर्ना दिन जाने थाहा पाएपछि सो क्षेत्रमा प्रहरी परिचालन बाक्लो तुल्याइएको थियो ।
ढुवानी व्यवसायीले आन्दोलनकारीलाई आक्रमण गर्न खोजेकोमा नेपालतर्फ बाक्लै प्रहरी भएकाले आन्दोलनकारी नेपाली भूमिमा प्रवेश गरेपछि भारतीय ढुवानी व्यवसायी पछि हटेका थिए ।
इन्धनका गाडी भारत जाने क्रम सुरु
वीरगञ्ज-रक्सौल नाकामा शनिवार सामान्य चहलपहल देखिएको छ । यो सँगै नेपालबाट ढुवानीका लागि इन्धनका गाडी भारत जाने क्रम सुरु भएको छ ।
नेपाल आयल निगमले शनिबारदेखि तेल ढुवानी गर्न वीरगञ्ज नाकाबाटै ट्यांकर पठाउन सुरु गरेको हो ।
हिजो स्थानीयबासी र व्यापारीले झण्डै पाँच महिनादेखि अवरुद्ध रहेको रक्सौल-वीरगञ्ज नाका खुलाएका थिए । हिजो मितेरी पुल हुँदै केही मालबाहक कन्टेनर पनि नेपाल आएका थिए ।
त्यसपछि बिहान मात्रै झण्डै १२ वटा ट्याकंर वीरगञ्ज नाका भएर रक्सौल गइसकेको वीरगञ्ज भन्सारका अधिकारीहरुले बताएका छन् । शनिबार नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनको रक्सौल डिपोमा डिजेल भर्ने र पेट्रोल लिन बरौनी पुग्ने गरी ट्यांकर पठाएको हो ।रक्सौल डिपोले वीरगञ्जबाट पठाउने गरी तेल दिन नसकिने बताएको वीरगञ्जका एक पेट्रोलियम ब्यवसायीले बताए ।
आज झण्डै ३५ वटा ट्यांकरलाई वीरगञ्ज नाका भएर नै तेल भर्न पठाउने तयारी भएको आयल निगमको अमलेखगञ्ज डिपो स्रोतले जनाएको छ । यसमध्ये अधिकांशले बरौनी डिपोमा तेल भर्नेछन् ।वीरगञ्ज भन्सारका प्रमुख मित्रलाल रेग्मीले नाकाको अवस्था सामान्य रहेको बताए ।