मितेरी पुलमा आन्दोलनकारीको धर्ना, पुलमुनिबाट धमाधम सामान भित्रिदैं

अनिल तिवारी
वीरगञ्ज, माघ २२ । भारतीय नाकाबन्दी र मधेसी मोर्चाको अवरोधका कारण ठप्प रहेको वीरगन्जको रक्सौल नाकाको दृश्य केही दिनयता फेरिन थालेको छ । नाका सामान्य अवस्थामा फर्कन त सकेको छैन तर यहाँको अवस्था देख्दा अवरोध बाँकी रहेजस्तो पनि देखिँदैन ।

माथि आन्दोलनकारीको धर्ना, पुल तल कारोबारीको कारोबार चलिरहेको छ मितेरी पुलमा । अजबको नाकाबन्दी, गजबको कारोवार । मधेसवादी दलले धर्ना जारी राखेको वीरगञ्ज–रक्सौल मितेरी पुलको धर्नास्थल केही हप्तादेखि झडपस्थलमा परिणत भएको छ । पुलमा मोर्चाका कार्यकर्ता घटेसँगै भारतीय व्यापारी हावी हुँदा यहाँ दिनहुँ झडप हुने गरेको हो । धर्नामा आन्दोलनकारीको सहभागिता कम भएकाले दिनहुँ झडप हुने गरेको स्थानीय रमतुल्लाह खान बताउँछन् ।

धर्ना स्थलमा आन्दोलनकारीको संख्या घटेपछि भारतको रक्सौलबाट मालसामान भित्रने क्रम पनि बढेको छ । मालसामान भित्र्याउन खोज्ने ढुवानीकर्ता र धर्नाकारीबीच पटकपटक झडप हुने गरेको छ । भारत र नेपाल दुबै तर्फको सीमानामा पर्ने करिब २ बिगाहाको चौर अहिले मालसामान राख्ने जक्सन बनेको छ । ढुवानीकर्ताले पुरानो बाटो हुँदै पुल मुनिबाट नेपाल भित्र्याउने सामान चौरसम्म पु¥याउने गरेका छन् । यहाँ पुर्‍याइदिन स्थानीय भरियालाई अहिले भ्याई–नभ्याई भएको छ । जसका लागि उनिहरुले राम्रै रकम लिईरहेका छन् ।

ठेला र टायर गाडाले भन्सारमा जान सामान्य अवस्था भन्दा ४ गुणासम्म बढी भाडा लिने गरेको वीरगन्जका व्यापारी धामु शर्मा बताउँछन् ।

भारतीय रक्सौल कस्टमले मालसामानको जाँचपास सुचारु गरेपछि तुलनात्मक रुपमा आयात बढेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । भन्सारका प्रवक्ता सुशील शर्माले मालसामान आउने क्रम बढेपछि राजश्व असुली पनि वृद्धि भएको बताए ।

नाकाबन्दी भएका बेला दैनिक ४ लाख रुपैयाँसम्ममा झरेको राजश्व अहिले ५० लाख भन्दा माथि पुगेको प्रवक्ता शर्मा बताउँछन् ।

बन्दी र नाकाबन्दीले मुलुककै आर्थिक राजधानीको रुपमा रहेको बीरगन्जको आर्थिक अवस्था धरासायी बन्दै गएको छ । तर पनि मोर्चाको आन्दोलन र तीन दलको हठधर्मिता जारी छ । मुलकले निकास कहिले पाउने हो, ठेगान छैन । तर मितेरी पुलमा अजब–गजबको नाकाबन्दी र कारोबार जाारी छ ।

Leave a Reply

Your email address will not be published.