कांग्रेसको महाधिवेशन प्रतिनिधि आज चुनिदै

चितवन, २२ माघ । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि आज चितवनसहित देशैभर चयन गरिँदैछ । महासमितिका लागि पनि आजै सदस्य चयन हुँदैछन् ।

नेपाली कांग्रेसले प्रतिनीधि चयनलाई महासंग्राहमका रुपमा लिएको छ । हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापति सहित ११ जना महाधिवेशन प्रतिनिधि चुनेर सम्पन्न हुने यस अधिवेशनले आगामी महाधिवेशनमा नेतृत्वको दावी गरिरहेका नेताहरुको हैसियत प्रष्टयाउने छ ।

माघ १५ गते देशभरका गाँउ र नगरपालिका इकाई कमिटीबाट चुनिएका प्रतिनिधि मतदाता रहने यस अप्रत्यक्ष निर्वाचनबाट समानुपातिक÷समावेशी सिद्धान्तका आधारमा दलित, महिला, आदिवासी–जनजाति र अल्पसंख्यक कोटामा पनि प्रतिनिधि चयन गरिनेछ ।

यसै आधारमा आगामी फागुन २० देखि २३ सम्म काठमाडौंमा केन्द्रीय कार्यसमिति चयन हुनेछ । क्षेत्रबाट १२ जनाका दरले चुनिने २ हजार ८ सय ८०  जनाका अतिरिक्त विभिन्न भ्रातृ संस्था, विदेशस्थित जनसम्पर्क समिति, केन्द्रीय समितिका ८५ जना सदस्य तथा केन्द्रीय सभापतिले मनोनयन गर्ने ३० जनासहित तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिले आगामी महाधिवेशनमा मतदाताका रुपमा भाग लिनेछन् । त्यस्तै अधिवेशनले हरेक क्षेत्रबाट पाँच जनाका दरले महासमिति सदस्यको पनि चयन गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.