चितवन राष्ट्रिय निकुञ्जको जल्ने भए खाग र दाह्रा

चितवन, २१ माघ । लामो समयदेखि जम्मा भएका दुर्लभ वन्यजन्तु एक सिंगे गैंडाको खाग, पाटे बाघको छाला र जंगली हात्तीको दाह्रालगायतका जीवजन्तुका अंगहरु जलाउने तयारी सुरु भएको छ । जीवजन्तु मरेमा उनीहरुका यस्ता अंगहरु झिकेर सुरक्षित राख्ने प्रचलन छ । त्यस्तै, तस्करहरुबाट बरामद भएका अंगहरु पनि संकलन हुने गरेका छन् ।
देशभरका निकुञ्ज क्षेत्रमा मरेका जनावरहरुको अंग चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा राख्ने चलन छ । त्यस्तै, निकुञ्ज बाहिर बरामद भएका जंगली जनावरका अंगहरु चितवनकै टिकौलीमा रहेको सशस्त्र वन रक्षक तालिम केन्द्रमा संकलन हुँदै आएको छ । अखेटोपहार पनि भनिने दुबै ठाउँमा रहेका वन्यजन्तुका त्यस्ता अंगहरुको लगत संकलन गरेर विवरण लिने काम सकिएको छ ।
‘प्रमाणका लागि आवश्यक भएका र वैज्ञानिक अनुसन्धान वा अन्य अध्ययनका लागि चाहिने नमुना बाहेक अब अरु अखेटोपहार जलाउनु पर्ने अवस्था आएको छ’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भने ।

सरकारले टिकौलीमा झण्डै २० वर्षअघि अखेटोपहार जलाएर नष्ट गरेको थियो । त्यसपछि जम्मा भएका अंगहरु जलाइएको थिएन ।
चितवन निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार देशभरबाट जम्मा भएका गैंडाका ३६९ खाग, पाटे बाघका ६९ वटा छाला, जंगली हात्तीका १८५ वटा दाह्रा, चितुवाका ४९३ छाला, कस्तुरी मृगको वबलिभ३६ थानबिनाको विवरण संकलन गरेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पठाएको छ । विभागले विवरण वन मन्त्रालयमा पठाउने छ ।
‘वन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव जानेछ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि जलाउने छौँ’ चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले भने । जिउँदा वन्यजन्तुको संरक्षण गर्नु आफूहरुको दायित्व भए पनि मरेका जनावरहरुको अंग निश्चित समयबाहेक धेरै राख्न नसकिने र त्यस्ता अंगलाई जलाएरै नष्ट गर्नुको विकल्प नरहेको उनले बताए ।
बाघ, गैंडा, चितुवा, भालु, माछा प्रजाति, मृगलगायतका सात प्रकारका जनावरहरुको अखेटोपहार संकलन हुने गरेको छ । जनावरहरुको अखेटोपहार व्यवस्थापनका लागि सरकारले कार्यविधि बनाएर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशकको अध्यक्षतामा १३ सदस्यीय समिति बनाएको थियो । समितिले विवरण संकलन गरेर प्रतिवेदन तयार पारेको हो ।
माघ आठमा विभागमा पठाएको प्रतिवेदनमाथि निर्णय आएको छैन । जलाउन लागेका वन्यजन्तुका अंगहरु गैरकानुनी बजारमा बहुमूल्य मानिन्छन् । गैंडाको खाग बाघको छालाको कारोबारमा तस्करहरुको अन्तर्राष्ट्रिय गिरोह नै संलग्न हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published.