पोल्ट्रीले गुमायो तीन अर्ब

चितवन, २१ माघ । भूकम्प र भारतको अघोषित नाकाबन्दीले कुखुरापालन (पोल्ट्री) व्यवसायमा सात महिनामा देशभर कुल दुई अर्ब ८७ करोड ३२ लाख ३३ हजार ५३१ रुपैयाँ नोक्सान भएको नेपाल कुखुरा व्यवसायी मञ्चले जानकारी गराएको छ । वैशाख १२ को भूकम्पपछि मंसिर ११ गतेसम्मको अवधिमा यो मूल्य बराबरको नोक्सानी भएको हो ।
कुखुराको चल्ला, अण्डा, मासु र दाना लागतभन्दा कम मूल्यमा बिक्री गर्नु परेको मञ्चका पूर्वअध्यक्ष तीलचन्द्र भट्टराईले बताए । लागतभन्दा कम मूल्यमा बेच्नुपर्ने बाध्यताका साथै उत्पादन भएका चल्ला र मासु अण्डासमेत बिक्री नहुने समस्याले व्यवसायीहरु मर्कामा परेका हुन् । नाकाबन्दीसँगै इन्धन अभावले ओसारपसारमा असर पर्दा बिक्री कम भएको थियो ।
उत्पादन भएकामध्ये मासुका लागि पालिने ब्रोइलर कुखुराका चल्ला २० प्रतिशत, अण्डाका लागि पालिने लेयर्स कुखुराका चल्ला २५ प्रतिशत अण्डा १५ प्रतिशत र कुखुरा पाँच प्रतिशत बिक्री हुन नसकेको नेपाल कुखुरा व्यवसायी मञ्चको तथ्याङ्क छ ।
मञ्चका पूर्व अध्यक्ष भट्टराईका अनुसार यो अवधिमा प्रतिगोटा ४८ रुपैयाँ उत्पादन लागत पर्ने ब्रोइलरको चल्ला ३० रुपैयाँमा, ७२ रुपैयाँ उत्पादन लागत पर्ने लेयर्सको चल्ला ४० रुपैयाँ साढे आठ रुपैयाँ लागत पर्ने अण्डा सात रुपैयाँमा बिक्री भएको थियो ।
त्यस्तै, प्रतिकेजी १५५ रुपैयाँमा उत्पादन हुने ब्रोइलर कुखुरा १४० रुपैयाँमा बेच्नुपर्ने बाध्यता आएको थियो । लागत मूल्य प्रतिकिलो ५५ रुपैयाँसम्म पर्ने कुखुराको दाना ५१ देखि ५३ रुपैयाँमा बिक्री भएको थियो । त्यस्तै नाकाबन्दी र इन्धन अभाव सुरु भएको तीन महिनामा गाडी नचल्दा झण्डै एक करोड रुपैयाँ बराबरको नोक्सानी बेहोर्नु परेको भट्टराईले बताए । चल्ला, मासु, अण्डाको नोक्सानीमात्रै दुई अर्ब ३२ करोड ६६ लाख २९ हजार ७९२ रुपैयाँ रहेको छ ।
मासु, अण्डा, चल्लासहित दाना र सप्लायर्सहरुको नोक्सानी जोड्दा सात महिनामा कुल दुई अर्ब ८७ करोड ३२ लाख ३३ हजार ५३१ रुपैयाँ नोक्सान भएको पूर्वअध्यक्ष तिलचन्द्र भट्टराईले विवरण सुनाए । पछिल्लो एक महिनामा भने मासु अण्डाको मूल्य सुधार आएको छ । तर उत्पदान घटेको व्यवसायीहरुले जानकारी दिएका छन् ।
ह्याचरी र पोल्ट्री (कुखुरा) फार्महरुमा २४ सै घण्टा बिजुली आवश्यक पर्छ । लामो समय लोडसेडिङको मार सहनु परेका बेलामा नाकाबन्दीका कारण इन्धनको समेत चर्को अभाव छ । व्यवसायीहरुले कालो बजारीको इन्धनबाट जेनतेन व्यवसाय धानेका छन् । जसले गर्दा लागत बढी छ ।
दाना उद्योगलाई चाहिने कच्चा पदार्थ अत्याधिक मात्रामा भारतबाट आयात हुन्छ । नेपाल दाना उद्योग संघका निवर्तमान केन्द्रीय अध्यक्षसमेत रहेका तिलचन्द्र भट्टराईका अनुसार, मकै, भटमास र सूर्यमुखी तथा तिलको पिनाजस्ता दाना उद्योगलाई चाहिने अत्यावश्यक कच्चा पदार्थ भारतबाट ल्याउँदा वर्षमा १३ अर्ब रुपैयाँ बाहिरिएको छ ।
‘सरकारले योजना बनाउने हो भने आउँदो पाँच वर्षभित्र यी सबै कच्चा पदार्थहरु देशभित्रै उत्पादन हुन सक्ने वातावरण छ । हामीले भारतबाट ल्याउनु नै पर्दैन थियो’ भट्टराईले भने । अहिले भएको नोक्सानीले धेरै व्यवसायीहरु कुखुरापालन क्षेत्रबाट विस्थापित हुने र बैंकमा राखेको जग्गा लिलाम हुने खतरा पैदा भएको छ ।
‘बैंकले सात महिनाको ब्याज मिनाहा गर्नु पर्छ । किस्ता तिर्ने समय पनि बढाउनु पर्छ । अब व्यवसाय चलाउन चालु पुँजी पनि चाहियो । त्यसका लागि परियोजना हेरेर बैंकले ऋण थप्नुपर्छ भन्ने हाम्रो माग छ’ भट्टराईले भने । नेपालभर कुखुरापालन व्यवसायमा ७० अर्ब रुपैयाँको हाराहारीमा लगानी भएको अनुमान छ । जसमध्ये लगभग आधा बैंकको ऋण रहेको व्यवसायीहरु बताउँछन् ।

.