विश्व क्यान्सर दिवस

cancerचितवन, २१ माघ ।  हामी सक्छौँ, म सक्छु भन्ने नाराका आज विश्व क्यान्सर दिवस चितवनसहित देशैभर विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाईंदैछ । क्यान्सर निको पार्न सकिन्छ भन्ने सचेतना जगाउन यो नारा तय गरिएको हो ।

चेतना अभावका कारण क्यान्सरका बिरामी विश्वभर बढ्दै गएका विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ । अव्यवस्थित खानपान र बढ्दो वातावरण प्रदुषण तथा क्यान्सर रोग लाग्नुको कारण र यसबाट जोगिन सक्ने उपायका बारेमा जानकारी नहुँदा बिरामी बढ्दै गएका डाक्टरले बताएका छन् ।

डाक्टरहरुका अनुसार प्रारम्भिक चरणमा नै उपचार गरे क्यान्सर निको हुन्छ । क्यान्सर लाग्नुमा धुमपान, चिल्लो पिरो खानेकुरा पनि मुख्य मानिन्छन् । चुरोट र सुर्तीजन्य पदार्थ नखाने तर यसको धुवाँमा बस्ने र दाउरामा खाना पकाउनेलाई पनि क्यान्सरको खतरा धेरै हुने डाक्टरहरु बताउँछन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार खानपानमा ध्यान दिन सके मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुन्छ । क्यान्सर लागेर ज्यान गुमाउने मध्ये २२ प्रतिशत धुमपानको कारण भएको पनि संगठनले जनाएको छ ।

विकसित राष्ट्रमा भन्दा विकासोन्मुख देशमा क्यान्सरका बिरामी बढ्दै गएका संगठनले जनाएको छ । विश्वमा हरेक वर्ष ८२ लाख मानिसलाई क्यान्सर लाग्ने गरेको तथ्यांक छ ।

नेपालमा ७० हजार जनालाई क्यान्सर हुने र यसको एक तिहाई मानिसको उपचारका क्रममा ज्यान जाने गरेको पाइएको छ । नेपालमा फोक्सो, आन्द्रा, पेट, स्तन, पाठेघरको मुखको क्यान्सर र डिम्बाशयको क्यान्सरका बिरामी धेरै छन् ।

Leave a Reply

Your email address will not be published.