भरतपुर नगर क्षेत्र भित्र सिसि क्यामेरा जडान गर्न सुरु

चितवन, २१ माघ ।  भरतपुर नगर क्षेत्रभित्र सिसि क्यामेरा जडान सुरु गरिएको छ । बजार क्षेत्रमा हुने गरेको अपराधिक क्रियाकलाप नियन्त्रणको लागि सिसि क्यामेरा जडान सुरु गरिएको हो । ccआइतबारदेखि सुरु गरिएको सिसि क्यामेरा जडान एक महिना भित्रमा सकिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्त बहादुर कुँवरले बताएका छन् ।

द थर्ड भिजनसँगको सहकार्यमा सिसि क्यामेरा जडान सुरु गरिएको हो । सिसि क्यामेरा जडानको लागि चितवनमा रहेका वाणिज्य बैंकहरुबाट १७ लाख रुपैयाँ, विकास बैंकहरुबाट छ लाख रुपैयाँ संकलन भएको कुँवरले जानकारी दिएका छन् ।

वाणिज्य बैंकहरुबाट प्रति बैंक ५० हजार रुपैयाँ र विकास बैंकहरुबाट प्रति बैंक ३० हजार रुपैयाँ संकलन गरिएको कुँवरले बताएका छन् । भरतपुर उपमहानगरपालिकाको आँपटारी, नारायणगढ बजार, लायन्स चोक, हाकीम चोक, केन्द्रीय बसपार्क, दूरसञ्चार चोका, विद्युत प्राधिकरण, मालपोत चोक, चौबिसकोठी, जिल्ला प्रहरी कार्यालय अगाडि सहित करिब २१ वटा स्थानमा ३५ वटा सिसि क्यामेरा जडानको तयारी गरिएको कुँवरले बताएका छन् ।

सिसि क्यामेरा जडानपछि समाजमा हुने अपराधिक क्रियाकलाप न्युन हुने प्रहरीको विश्वास रहेको कुँवरले बताए । सिसि क्यामेराको निगरानी बढेपछि अपराध गरेर भाग्ने प्रवृत्ती न्यून हुने समेत कुँवरले बताएका छन् ।

बुधबार सम्म चितवनका विभिन्न पाँच ठाउँमा सिसि क्यामेरा जडान भएको प्रहरी उपरीक्षक कुँवरले बताए । भरतपुर क्षेत्र भित्र जडान भएको सिसि क्यामेराको निगरानी जिल्ला प्रहरी कार्यालय चितवनबाट हुने समेत कुँवरले जानकारी दिए । क्यामेरा जडानको लागि करिब ४० लाख रुपैयाँ खर्च हुने कुँवरले बताए ।

पहिले पनि सिसि क्यामेरा जडान असफल भएको कारण यस पटकबाट यसको मर्मत सम्भारको लागि समेत तयारी गरेर क्यामेरा जडानलाई तीव्रता दिइएको कुँवरले बताएका छन् । उद्योग वाणिज्य संघ, विभिन्न वाणिज्य बैंकहरुबाट समेत सिसि क्यामेरा मर्मतको लागि वार्षिक रुपमा शुल्क लिने तयारी भएको कुँवरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.