महोत्सवमा भुईँ स्याउमा दर्शको भीड

चितवन, १९ माघ । पूर्वी चितवनको रत्ननगरमा जारी रत्ननगर महोत्सवमा ‘ग्राउण्ड एप्पल’ अर्थात भुईं स्याउको स्टलमा दर्शकहरुको भीड बढेको छ । झट्ट हेर्दा तरुल जस्तै देखिने भुईं स्याउ नयाँ र उपयोगी फलफूल भएकाले पनि यसले दर्शकहरुको ध्यान खिचेको हो ।
अहिले महोत्सवको स्टल नम्बर ८२ मा ग्राउण्ड एप्पल राखिएको छ ।Ground-Apple

चैतदेखि वैशाख महिना भित्रमा रोप्नुपर्ने यस स्याउ ५ डिग्री सेन्टीग्रेड देखि २४ डिग्री सेन्टीग्रेडसम्मको तापक्रम हुने क्षेत्रमा खेती गर्न सकिने बताइन्छ । समुन्द्री सतहको एक हजार पाँच सय मिटरदेखि दुई हजार आठ सय मिटरसम्मको उचाईमा रोप्न सकिने भुईं स्याउको जरा, बोट तथा पुरै बोट उपयोगी मानिन्छ ।
पाचनक्रिया सक्रिय गर्न शक्तिबद्र्धक मानिने भुईं स्याउ क्यान्सर रोगसँग लड्न पनि प्रभावकारी मानिन्छ । रक्तचाप नियन्त्रण गर्न उपयोगी भएको भुईं स्याउमा ६० देखि ७० प्रतिशत इल्सुलिन पाइने हुँदा मधुमेहका बिरामीहरुलाई पनि फाइदाजनक रहेको छ । यसलाई सुपर न्यूट्रिसन्स र हिलिङ प्लान्टको रुपमा पनि चिन्ने गरिएको छ । भुईँ स्याउ सलाद, जुस, पातको चिया, सिरप, वाइन, रक्सी, क्लुनरी, स्नेक्स तथा कन्फेक्सनरी लगायतका खाद्यवस्तु बनाउन समेत उपयोगी खाद्य वस्तु हो ।
अहिले रत्ननगर महोत्सवमा भुईंँ स्याउको स्टल राखेका सोनसा एग्रो फार्मका सञ्चालक ओम बहादुर रोक्काका अनुसार चैतमा लगाउने यस स्याउ, जेठ÷असारमा गोड्ने र पुस महिनामा खानको लागि तयार हुने गर्दछ । सुरुमा २८ रोपनी क्षेत्रफलमा भुईँ स्याउको खेती गरेका रोक्काका अनुसार २८ रोपनीबाट न्यूनतम  छ लाख रुपैयाँदेखि सात लाख रुपैयाँसम्म आम्दानी हुने गर्दछ । पहिलो वर्ष मात्र लगानी गरे पुग्ने यस भुईंँ स्याउ पोखरा, काठमाडौं, ललितपुर, चितवन र बुटवलमा सर्वसाधरणलाई बेचविखन गर्न सुरु गरिएको छ । होटल तथा विदेशमा यसको निर्यात बढाउने सोच बनाएको रोक्काले बताए ।

Leave a Reply

Your email address will not be published.