जिल्ला अदातलको ४५ प्रतिशत मुद्दा फस्र्यौट

चितवन, १९ माघ । जिल्ला अदालत चितवनले चालु आर्थिक वर्ष २०७२/७३ मा ६० प्रतिशत मुद्दा फस्र्यौट गर्ने लक्ष्य लिएकोमा पुस मसान्तसम्म ४४ दशमलब ९८ प्रतिशत मुद्दा फस्र्यौट गर्न सफल भएको छ ।chitwan-jilla-adalat
कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७१/७२ र आर्थिक वर्ष ०७२/७३ को पुस मसान्तसम्म दर्ता भएका मुद्दा मध्ये एक हजार ४० वटा मुद्दा फस्र्यौट भएका छन् । जस अन्तर्गत एक वर्ष भित्रको नौ सय सात, १८ महिना भित्रको ८६, दुई वर्ष भित्रको ३६ र दुई वर्ष नाघेका ११ वटा मुद्दा फस्र्यौट भएका हुन् । त्यस्तै, फस्र्यौट हुन बाँकी रहेका मध्ये एक वर्ष भित्रको एक हजार एक सय ७२, १८ महिना भित्रको एक सय १७, दुई वर्ष भित्रको २३ वटा र दुई वर्ष नाघेका ७ वटा मुद्दा रहेका छन् ।
फौजदारी मुद्दा अन्तर्गत सार्वजनिक मुद्दा धेरै छ भने बलात्कार, चोरी, ठगीका मुद्दाहरु समेत धेरै दर्ता हुने गरेको कार्यालयले जनाएको छ । चितवनका जिल्ला न्यायाधीश टेक नारायण कुँवरका अनुसार कार्यालयमा सरदर दैनिक ५० देखि ६० वटा मुद्दाहरु दर्ता हुने गरेको छ । कार्यालयमा कर्मचारीहरुको अभाव हँुदा कार्य व्यवस्थापनमा असजिलो भएको कुँवरले बताए ।
कुँवरका अनुसार जिल्ला अदालतमा आउने सेवाग्राहीलाई मध्येनजर गर्दै कार्यालयको काम कारबाहीलाई अगाडि बढाइएको छ । योजनाबद्ध तरिकाले काम सुरु गरेको कुँवरले बताए । कर्मचारीलाई चुस्त राख्नको लागि प्रशिक्षण दिने काम समेत कार्यालयले सुरु गरेको कुँवरले जानकारी दिए ।
जिल्ला अदालतमा आउने सेवाग्राहीको लागि सुविधायुक्त वातावरण निर्माणको व्यवस्था सुरु गरेको कुँवरले बताए । न्यायमा सर्वसाधारणको सहज पहुँचको लागि सहायता कक्ष, गुनासो सुन्ने अधिकारीलगायतको व्यवस्था गरेको कुँवरले जानकारी दिए । जिल्ला अदालत चितवनमा जनशक्तिको अभाव, भौतिक श्रोत साधनको अभाव, इजलासको लागि छुट्टै संरचनाको अभावलगायतका समस्याहरु रहेका कुँवरले गुनासो गरे ।