चितवनमा अतिक्रमित सडक खाली गर्न निर्देशन

-करुणा देवकोटा
चितवन, १९ माघ । भरतपुर नगर क्षेत्रमा सडक अतिक्रमण गरी सञ्चालन गरिएका व्यापार व्यवसायलाई माघ मसान्तसम्म खाली गर्न जिल्ला प्रशासन कार्यालय चितवनले निर्देशन दिएको छ । सार्वजनिक सडकको दायाँबायाँ अव्यवस्थित रुपमा रहेका टहरा, छाप्रा, ठेलालगायतमा व्यवसाय सञ्चालन गर्ने कार्य अव्यवस्थित भएकोले जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वपक्षीय छलफलले टहराहरु हटाउने निर्णय गरेको हो ।dojar-6
छलफलमा चितवनका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, सडक डिभिजन चितवनका प्रमुख, राजनीतिक दलका जिल्ला प्रमुख तथा प्रतिनिधि, यातायात तथा फलफूल व्यवसायी तथा अन्य सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

छलफलमा सडक अतिक्रमण हुने गरी भएका अव्यवस्थित पार्किङलाई समेत व्यवस्थापन गर्न जिल्ला प्रशासान कार्यालय चितवनले निर्देशन दिएको छ । माघ मसान्तसम्म अतिक्रमित सडक खाली नगरेमा आवश्यकता अनुसार बल प्रयोग गर्न प्रशासन बाध्य हुने चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले बताए ।
सडक किनारमा व्यापार व्यवसाय सञ्चालन गरेकालाई विकल्पको रुपमा अन्य ठाउँको व्यवस्था गर्न सकिने तर नागरिकले हिँडडुल गर्ने सडक अतिक्रमण गर्न नपाइने समेत छलफलले निष्कर्ष निकालेको छ । छलफलमा सहभागी फुटपाथमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले आफ्नो व्यवसायलाई व्यवस्थापन गर्नको लागि उचित ठाउँको व्यवस्था गर्न प्रशासनसँग माग गरेका छन् ।

भरतपुर उपामहानगरपालिकाले आनवश्यक शुल्क लिने, बाटोमा हिँड्दाहिँड्दैको ठेलाका सामान फाल्ने तथा लैजाने प्रवृत्तिको समेत अन्त्य हुनुपर्ने व्यवसायीहरुको माग छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहका अनुसार सडक किनारमा व्यवसाय सञ्चालन गरेका मध्येबाट भरतपुर उपमहानगरपालिकाले उठाउँदै आएको शुल्क समेत नउठाउन निर्देशन दिइएको छ । भरतपुर उपमहानगरपालिकाका विभिन्न क्षेत्रहरुमा सडक अतिक्रमण गर्दै व्यापार व्यवसाय सञ्चालन हुने र पार्किङको सही व्यवस्थापन नहुने क्रम बढेसँगै नगर क्षेत्रमा फोहोर तथा दुर्गन्ध फैलिँदै गएको छ ।

सडकमा सुरक्षा तथा ट्राफिकलाई व्यवस्थित गर्न समेत अतिक्रमित सडकको कारण समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजन भेटवालले बताए ।
छलफलमा सहभागी भएका भरतपुर विमानस्थलका प्रमुख शशी शर्माका अनुसार चौबिसकोठीबाट कृष्णपुर जाने बाटोमा भएको व्यापार व्यवसायले विमानस्थल वरपर दुर्गन्ध फैलिएको छ ।

विमानस्थल जस्तो संवेदनशिल ठाउँ वरपर फोहोर फाल्दा त्यहाँ विभिन्न प्रकारका चराहरु उड्नाले जहाज उडान र अवतरणको क्रममा जोखिम जाखिम हुने शर्माको भनाइ छ । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले सडकको अधिकार क्षेत्र भित्र व्यवसाय सञ्चालन गर्न नपाइने व्यवस्था प्रति आफ्नो पनि ऐक्यवद्धता रहेको बताए ।

Leave a Reply

Your email address will not be published.