मैले नजन्माएकी छोरी -२

मेरो श्रीमानले खुब माया गर्नु हुन्छ उहाँको नाम दयाराम भएपनि सबैले उहालाई शरद भनेर चिन्छन् । एकदिन रितुको आग्रहमा हामी घुम्न निक्लेयौँ ।मैले-नजन्माएकी-छोरी-२_site

सुन्धारामा सफा टेम्पुबाट ओर्लने बित्तिकै रितुले प्रश्न गरिन्- मामु त्यो अग्लो-लामो घर खोई ?

शरद र म मुखामुख गर्यौ ।

अस्तिनैको भूकम्पले खायो भनेँ । त्यत्तिकैमा सम्झेँ – मैले पनि शरद सँगै धरहरा चढ्ने मौका पाएको थिएँ । म, शरद र रितुसम्मको चिनारी मेरो अगाडि टुक्रिएको देख्दा म भक्कानिए ! रितुलाई काठमाडौं महलमा केहि सामान किनिदियौँ अनि आईसक्रिम खाने उनको रहर पुरा गरेर घर फर्कदै गर्दा शरदको मोबाइलमा फोन आयो ।

मैले छुस्स सुनेँ – “जे भएनि त्यो हाम्रो रगत होइन बाबु ! नाती खेलाउन मन छ।”

मलाई कता-कता जुन डर लाग्थ्यो त्यो अब वास्तविकता हुँदैछ भन्ने भयो । म अत्तालिएँ । बेचैन भएँ । उकुसमुकुस भएँ । रोएँ । बसमा सबै पेसेन्जरले हेर्दै हाँसे । कुरा काटे । कसैले नानी के भयो किन रोएको भने। म केहि बोलिन । मात्र रितुलाई हेरिरहेँ ।

रितुले मेरो आँशु पुस्न थालिन्। मेरो श्रीमानले मलाई सम्झाई-सम्झाई भन्न थाल्नुभयो हेर अब हामीले परिवार- समाज सबै हेर्नुपर्छ । एउटा छोरो चाहिन्छ हामीलाई ! घर पुग्यौँ ! रातीको १० बज्दै थियो । खाना खान त के हेर्न मन पनि थिएन । रितुसँगै पल्टिएँ । मन भित्र धेरै कुरा खेल्न थाल्यो । मेरो कोखबाट जन्मेको मेरो बच्चाले जति रितुले माया पाउँछिन त ?

कतै रितुको जीवनमा नसोचेको त हुँदैन ? हाम्रो खुशीहरुमा ठेस त लाग्दैन ? यता कोल्टिन्छु निदाउन सक्दिन उता कोल्टिन्छु निदाउन सक्दिन । राति १ बजे तिर त रितुलाई लिएर कसैले नदेख्ने ठाउँमा गएर बसौँ भनेर हिड्न लागेको थिए फेरि शरदको मायाले सकिन । अनि परिवार जसले मलाई हर वखत साथ दियो उसलाई मैले धोका दिन पनि त सक्दिनथेँ ।

यस्तै कुराले मलाई पिराेलिरहेको छ के गरुँ मलाई नै थाहा छैन ! रितुको ईच्छा अनुसार जु, फनपार्क लगायतका ठाउँ घुमाईदिएँ । लगत्तै हामी पोखरा फर्कियौँ । त्यो यात्रा मेरो जिन्दगीको सबै भन्दा पीडादायिक यात्रा बन्यो ।

यो पीडा खोइ कसरी कम होला र बाटो भरी मन उकुस मुकुस भयो कुराहरुले । तर पोख्नलाई ठाउँ पाईन ! ममीलाई सबै बह पोखेर मन हलुङ्गो बनाउन मन थियो तर फोन गर्न सकिन । कारण शरद र रितु म सँगै थिए ।

हामी हाम्रो घर पुग्यौँ । घरमा सबैजना खुशी हुनुहुन्थ्यो र पनि कता कता आमा म सँग रिसाएको जस्तो अनुभव हुन्थो मलाई । रितु आमालाई सबै कुरा सुनाउँदै थिई। आमा पनि रितुको कुरा सुन्दै हुनुहुन्थ्यो ।

दुवै जनालाई देखेर शरद मेरो मुखमा हेर्दै केही भन्न खोजे जस्तै गर्दै हुनुहुन्थ्यो तर मलाई न केही भन्नु थियो न केही सुन्न । उहाँले मलाई सम्झउन धेरै कोशिस गरेतापनि मेरो मन मान्न तयार थिएन यसरी नै हाम्रो सुखमय दिनहरु क्रमश पीडामा बदलिएका थिए ।

मलाई रितुको चिन्ताले सताउन थालेको थियो र परिवारको कुराले पनि । म निरास थिए, मेरो जाँगर मरिसकेको थियो । बेला वखतमा आमा सोध्नु हुन्थ्यो तिमीलाई सन्चो छैन कि के हो भन है ?

हैन आमा म ठिक छु ।

किन त म उदास उदास देख्छु के हो ?

मलाई भन्न सक्छौ तिमी ?

हैन ! आमा म ठीक छु !

मलाई थाहा छ तिमीलाई रितुको चिन्ता छ हैन ?

म बरर रुन थाल्छु आमा सम्झाउँदै भन्नु हुन्छ ।

धत ! लाटी तिम्रो मात्रै छोरी हो र त्यो त हाम्रो पनि जिम्मेवारी हो नि। म त तिमी वुझ्छ्यो होला भनेको त तिमीले हामीलाई पराई जस्तै ठान्यो होइन । केहीबेर सन्नाटा छायो घरमा सन्नाटालाई छिचोल्दै आमा बोल्नु हुन्छ- “हेर बा ! हामी भनेको त डुब्न लागेका घाम जस्तै हौँ । भविष्य त तिमीहरुको पो हो ! हामीसँग शरद थियो र पो हामीले तिमीलाई पायौ नत्र त हामी अहिले एक्लै बस्नु पर्थ्यो । शिरिष ! हामीले तिमीलाई आफ्नै छोरी मानेका छौँ ! यो समाजका अगाडि रितुसँगै तिमीलाई यो घरमा ल्याएको हो किन तिमीले यो कुरा नबुझेको ? “

आमाको मनमा यस्तो कुरा थियो भने किन फोनमा हाम्रो रगत होइन भन्नु भयो होला मनमनै सोच्न थाल्छु म ! खैर ! म चुपचाप छु आमा बोलिरहनु भएको छ ! हामीले समाजको कुरा कहिल्यै सुनेनौ ! तिमीलाई हाम्रो इच्छा पुरा गर्न रहर छैन भने भैगो हामी कर गर्दैनौँ !

एउटा कुरा याद राख यदि रितु तिमीहरुकै रगत भएको भए पनि म एउटा नाती चाहियो भनेर तिमीहरु सँग माग्थे के त्यो बेला पनि तिमी यसरी नै निरास हुन्थ्यौ ? एक्कासी डाँको छोडेर रुन मन लाग्छ आमा सँगै टाँसिएर रुन्छु म । आमा पनि म सँगै रुनुहुन्छ ।

थाहा छैन मैले कुन जन्ममा धर्म गरेको थिए र आज मैले फेरि एउटी आमा पाएकी छु । मेरो जन्म दिने आमाले जस्तै माया गर्नुहुन्छ उहाँ !

लाग्छ रगतको नाता भन्दा भावनाको नाता कयौँ गुणा माथि छ । यदि त्यसलाई बुझ्न र कदर गर्न सकियो भने । मनमनै नराम्रो महसुस हुन्छ माफ गर्नु आमा मेरो मतलव त्यो थिएन । म भन्छु आमा सँग ।

आमा हाँस्नु मात्र हुन्छ । म त रितुको माया आगाडि संसार विर्सिएकी थिएँ । रितु मेरी होइन हाम्री हो । यो कुरा थाहा भएर पनि मैले थाहा नभएको जस्तो गरे आमा !

यतिकैमा रितु स्कूल बाट आउँछे । उसको मन पर्ने खाजा आलु परौठा टेबलमा छ । ऊ खान थाल्छे र भन्छे – ममा ! मलाई पनि भाई चाहियो मेरो साथीहरुको त भाई छ । मेरो मात्रै छैन ।

उसको कुरा सुनेर आमा र म हाँस्न थाल्छौ । ढोकैमा आइपुगेको शरद पनि हामीलाई हेरेर चकित पर्नुहुन्छ र हामी सँगै हाँस्नु हुन्छ ।

सायद ! कुरा बुझेर होला । आमा मलाई भन्न थाल्नु हुन्छ रितुको ईच्छा त पुरा गर्छौ होला नि ?

हैन आमा ! हजुरको पनि !

म हाँस्छु । लाग्छ खुशी त हामी सँगै छ फरक त्यति रहेछ हामी खुशीलाई बिर्सेर दुख खोजिरहेका हुन्छौ ।

हुन त खुशी, आँशु हाँसो,रोदन यी सबै कुराहरु नै जीवनका आधार हुन । जीवन छ त यी कुराहरु पनि जीवन सँगै छन् । कहिले काहिँ खुशी खोजिरहँदा आफू सँग भएको खुशी हराउँदो रहेछ, सुखको लोभमा ।

जहाँ आफू बाँचिन्छ त्यहाँ अरुको ईच्छाहरुको पनि कदर गर्न सक्नु पर्दो रहेछ । जसले आफ्नो भावनको कदर गर्छ उसको भावना पनि आफुले बुझ्न सक्नु पर्ने रहेछ अनि भेटिँदा रहेछन खुशीहरु ! हराउँदा रहेछ वेदना ! भेटिँदो रहेछ ममता ! आफन्त ती हुन् जसले आफूलाई बुझेर जस्तो सुकै परिस्थितीमा पनि आफ्नो साथमा हुन्छ!

केही समयको अन्तराल पछि…!

म हस्पिटलको बेडमा छु । अर्ध वेहोसीमा । के- के भयो मलाई केही थाहा छैन ! मेरो छेउमा रितु छे । उसलाई देख्छु । उसलाई चिन्नलाई मलाई गार्हो पर्दैन उ त मेरो ढुकढुकीमा जो बसेकी छ ।

आमा ! यो कस्तो प्रेम ?

हे ! ईश्वर ! तिम्रो लिला अपारम्पार छ । कतै अघिल्लो जन्ममा ऊ मैले जन्माएकै छोरी हुनु पर्छ! नत्र भने यो ममता किन यसरी पोख्न सक्छु म यसलाई ! मेरो पीडा उसलाई देखे पछि कम भएको महसुस हुन्छ ।

अरु बोलेको आवाज त आउँछ तर मैले प्रष्ट सँग सुन्न सकेकी छैन । यो कस्तो सम्बन्ध हो कहिलेकाहिँ म आफै छ्क्क पर्छु । रितुलाई थाहा छैन म उसको जन्म दिने आमा होईन भनेर ।

भगवान ! यो कुरा उसलाई कहिल्यै थाहा नहोस । नर्स आएर भन्छिन बधाई छ ! छोरा भएको छ ! म रितुलाई हेर्छु । ऊ एकदमै खुशी छे । आमा पनि सँगै हुनु हुन्छ । “म बेडमा भएदेखि यसले केही खाएकी छैन रे ! ” जिद्दी गर्छे । मैले खानु पर्छ भनेर । अनि भन्छे ममा भाई त म जस्तै छ ।

म दुवैको अनुहार हेर्छु मलाई पनि कता कता हो जस्तै लाग्छ अनि भन्छु ! तिम्रो भाई तिमी जस्तै छ ! शरद मलई बधाई दिनु हुन्छ र म पनि…!

ऊ भाई सँग खेल्ने सपना बनाउँदै छे । हाम्रो परिवार हस्पिटलबाट फर्किने तर्खरमा छौँ ! म फेरि आमा बनेकी छु यो आमा बनाई मलाई नयाँ भने पटक्कै लागेको छैन ! मलाई आभास हुन्छ म पहिला पनि आमा बनेकी हुँ ।

हो पहिला म आमा बन्दा शारीरिक पीडा भएन होला तर मानसिक पीडा यो भन्दा कम थिएन । हामी एक साथ छौँ । खुशी छौँ । हाम्रो दैनिकी चलिरहेको छ र पनि भित्र अन्तरआत्ममा भने मलाई रितुको चिन्ताले पिरोलिरहन्छ ! एक दिन उसले यो समाज सँग सम्झौता गर्नु नै छ ।

आफ्नो वास्तविकताबाट कति नै टाढा राख्न सक्छु र मैले उसलाई । अहिले ऊ बुझ्दिन यस्तो कुरा । कुनै दिन उसले मलाई नै प्रश्न गर्ने छे । तर त्यो बेला म घमण्डका साथ भन्न सक्छु – “रितु ! तिमी मेरी छोरी हौ ।

Leave a Reply

Your email address will not be published.