जिल्ला लिग फुटबल सुरु

भरतपुर, १८ माघ । चितवन जिल्लास्तरीय लिग फुटबल प्रतियोगिता सोमबारबाट सुरु भएको छ । नारायणगढको क्याम्पाचौरमा आगामी फागुन ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामाले उद्घाटन गरे ।
कूल १६ वटा क्लब सहभागी प्रतियोगितामा पहिलो दिन सोमबार नारायणगढ फुटबल क्लब (एनएफसी) र रामपुर फुटबल क्लबले विजयी सुरुआत गरेका छन् ।

footballसमूह ‘ए’ को पहिलो खेलमा एनएफसीले सिद्धार्थ युवा क्लब क्षेत्रपुरलाई ४–० गोलअन्तरले पराजित गरेको हो । एकपक्षीय खेलमा एनएफसीका तर्फबाट पुकार आलेले १३ औं मिनेटमा गोल गर्दै पहिलो अग्रता दिलाए भने ४५ औं मिनेटमा विजय खड्गीले अग्रता दोब्बर पारे । त्यस्तै साइदीप जोशीले ५८ र दिनेश शाक्यले ६७ औं मिनेटमा अन्तिम गोल गरे । सिद्धार्थले कुनै गोल फर्काउन सकेन ।
समूह ‘ए’ कै दोस्रो खेलमा रामपुर फुटबल क्लबले हर्दी फुटबल क्लब भण्डारालाई ४–० गोलअन्तरले नै हराएको छ । रामपुरका तर्फबाट दीपक भुजेलले २४ औं मिनेटमा, गजेन्द्र गुरुङले ५९ औं, श्यामलाल महतोले ६८ र विनोद गुरुङले इञ्ज्युरी समयमा गोल गरेको म्याच अफिसियल रामहरि ढकालले जानकारी दिए ।
दुवै टिमले महत्वपूर्ण ३–३ अंक जोडेको छ । प्रतियोगितामा दोस्रो दिन मंगलबार समूह ‘बी’ का खेल हुने आयोजक चितवन जिल्ला फुटबल संघका सचिव नारायण ढकालले जानकारी दिए । सोमबार भएको प्रतियोगिता उद्घाटन कार्यक्रम संघका अध्यक्ष राजेशराम श्रेष्ठको अध्यक्षता तथा चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी सूर्यमान श्रेष्ठ ‘कालु’ र छन्नुराम महतोको विशेष आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.