प्रकृति संरक्षणका लागि युवा विद्यार्थी क्याम्प

-राजेन्द्र आचार्य
चितवन, १८ माघ । प्रकृति संरक्षणमा युवा विद्यार्थीहरुलाई परिचालन गर्ने उद्देश्यका साथ एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त आयोजनामा तीन दिने क्याम्प सम्पन्न भएको छ ।

माघ १४ गतेदेखि चितवनको सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजना गरिएको प्रकृति संरक्षणका लागि युवा विद्यार्थी क्याम्प चितवनमा सकिएको हो । उक्त क्याम्पमा गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्बर १० मा रहेको रत्नराज्य उच्च माध्यमिक विद्यालयका कक्षा ६ देखि ८ सम्मका २५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

भूकम्पका कारण त्रासमा रहेका विद्यार्थीहरुलाई सामान्य अनभूति होस् भन्ने उद्देश्यका साथ क्याम्पका आयोजना गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख डाक्टर चिरञ्जीवि पोखरेलको भनाइ छ ।

विद्यार्थीहरुलाई पाँच वटा समूह बनाएर प्रशिक्षण दिइएको र उनीहरुको विचार साटासाट गरिएको थियो । खेल्दै सिक्दै अवधारणा अनुसार प्रकृति संरक्षणमा विद्यार्थीलाई अग्रसर गराउने कार्यक्रमको मुख्य उद्देश्य भएको पोखरेलले बताए ।

20160130_113842

चितवनमा आयोजना गरिएको उक्त क्याम्प नमुनाका रुपमा भएको र यसको प्रभावकारिता पछि मुलुकभरी रहेका ११ हजार सामुदायिक विद्यालयका विद्यार्थीलाई तालिम प्रदान गरिने पोखरेलले जानकारी दिए ।

उक्त कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक फणिन्द्र राज खरेलले राष्ट्रिय निकुञ्जमा विद्यार्थी तथा नेपाली अनुसन्धानकर्तालाई खोज अनुसन्धानको लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको बताए । संरक्षण सम्बन्धी छुट्टै कार्यक्रम गर्नको लागि बढी खर्च हुने र विद्यार्थीहरुलाई संरक्षणको लागि परिचालन गर्दा संरक्षणको काम न्यून शुल्कमा प्रभावकारी हुनुका साथ विद्यार्थीहरुको चेतनास्तर समेत बढ्ने खरेलको भनाइ थियो ।

विद्यार्थीलाई संरक्षण शिक्षा दिनु राज्यको दायित्व भएको र विद्यालय स्तरका पाठ्यपुस्तकमा समेत संरक्षण शिक्षा हुनु जरुरी रहेको खरेलले बताए । भूकम्प पीडित विद्यार्थीलाई भूकम्पको पीडा बिर्साउनको लागि चितवन ल्याएर संरक्षण शिक्षा दिनु राम्रो काम भएको खरेलको भनाइ थियो । सबै विद्यार्थीलाई प्रकृति शिक्षामा समावेश गराउनुपर्ने खरेलले बताए ।
कार्यक्रममा शिक्षा मन्त्रालयका सह सचिव इमनारायण श्रेष्ठले विद्यालय स्तरका पाठ्य पुस्तकमा प्रकृति र वातावरण संरक्षण सम्बन्धी पाठ्यक्रम थप गरिने बताएका छन् । विभिन्न स्थलगत अध्ययन र परियोजना अध्ययनबाट सिकेका कुराहरु प्रभावकारी हुने भएकाले विद्यार्थीलाई बाहिर लगेर दिइने शिक्षा दीगो हुने श्रेष्ठले बताए ।

उक्त कार्यक्रममा नेपाली सेनाको श्रीजंग गण कसराका गणपति प्रमुख सेनानी सञ्जय देउजाले विद्यार्थीहरुले तीन दिनको बसाईँमा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुपर्ने बताएका छन् । भोलिका संरक्षणकर्मीहरु आजका विद्यार्थीहरु भएकाले तिनीहरुलाई राम्रोसँग तालिम र शिक्षा दिनुपर्नेमा देउजाको जोड थियो ।

Leave a Reply

Your email address will not be published.