‘जैविक विविधता सूचना केन्द्र’ आफैं सूचनाविहीन

चितवन, १४ माघ । दुर्लभ वन्यजन्तुबारे जानकारी लिने र तिनका अखेटोपहार हेर्न पाइने पूर्वी चितवनको रत्ननगर–७ टिकौलीस्थित महत्वपूर्ण ‘जैविक विविधता सूचना केन्द्र’ आफैं सूचनाविहीन भएर बसेको छ । रत्ननगरस्थित पूर्व–पश्चिम राजमार्गसँग जोडिएको र नेपालकै तेस्रो पर्यटकीय केन्द्र सौराहाको समिपमा रहेर पनि सूचना केन्द्र बत्तीमुनिको अँध्यारो भने झैं भएको छ । दैनिक सयौं पर्यटक त्यही बाटो भएर हिंड्छन् । सौराहाबाट दर्जनाँै पर्यटक दैनिक नजिकै रहेको बिसहजारी तालमा घुम्न आउछन् तर त्यही सूचना केन्द्रमा पर्यटक लैजानुपर्छ भन्ने चेतनासम्म कसैमा छैन ।
वन र वन्यजन्तुको जानकारीसहित दुर्लभ वन्यजन्तुका अङ्ग प्रत्यंगहरू (अखेटोपहार) अवलोकन गर्न पाइने उक्त सूचना केन्द्रबारे उचित प्रचार हुन सकेको छैन र यसका कारण अहिले केन्द्र ओझेलमा परेको छ । देशकै महत्वपूर्ण सूचना केन्द्र र दुर्लभ वन्यजन्तुको अखेटोपहार रहेको भए पनि सरोकारवाला संघसंस्था यो संस्थालाई क्रियाशील बनाउन उदासीन देखिएका छन् ।
सूचना केन्द्र सञ्चालन समितिका अध्यक्ष रामबाबु श्रेष्ठ विभिन्न क्षेत्रमा पहल गर्दा पनि सूचना केन्द्र सञ्चालनमा प्रभावकारी काम हुन नसकेको बताउंछन् । टिकौली र पञ्चकन्या सामुदायिक वनको समन्वयमा जैविक विविधता सूचना केन्द्र सञ्चालनमा आएको श्रेष्ठले बताएका छन् । नेपालको पश्चिमदेखि पूर्वसम्मका भूभागमा पाइने वन्यजन्तुको आखेटोपहार संकलन गरेर सूचना केन्द्रमा राखिएको श्रेष्ठले बताए । सौराहाका होटल व्यवसायीहरूले यहाँ पर्यटक ल्याउने चाहना नै नराखेको श्रेष्ठले प्रतिक्रिया दिए । सूचना केन्द्रमा केही विद्यालय तथा क्याम्पसका विद्यार्थीहरु आउने गरेका भएपनि वाह्य पर्यटक ल्याउन नसकिएको श्रेष्ठको भनाइ छ ।
यहाँको माथिल्लो तलामा दुर्लभ वन्यजन्तुहरू गैंडाका खाग, खुर, दाह्रा र खप्पर राखिएका छन् । दुर्लभ पाटे बाघको छाला, दारा, खप्पर र बाजु यहा छन् । यस्तै, कस्तुरीको बीना, भालुको पित्त र छाला, हात्तीको दाह्रा तथा गोही, जरायो, चित्तल, नीलगाई, अजिंगर, चितुवालगायत संरक्षित वन्यजन्तुहरूको छाला तथा शरीरका विभिन्न अङ्गहरू प्रदर्शनमा राखिएका छन् । तल्लो तलामा वन्यजन्तुहरूका सूचनामूलक सामग्रीसगै विभिन्न सन्धी तथा संरक्षण ऐन, साइटिस्ट सन्धिलगायत महत्वपूर्ण सूचना सामग्रीहरू रहेका छन् ।
यति महत्वपूर्ण विषयहरू देख्न पाइने र जानकारी लिन पाइने भए पनि यहाँ पर्यटकको आकर्षण बढ्न नसकेको सूचना केन्द्रको रेखदेख गर्दै आएकी कर्मचारी सुनिता घिमिरेले बताइन् । विसं २०६३ चैत २९ गते उक्त केन्द्र स्थापना भएको थियो । विश्व वन्यजन्तु कोषको झण्डै ५० लाख रूपैयँको लागतमा निर्माण सम्पन्न भएको सूचना केन्द्रमा अहिले पर्यटकहरू देख्न नै मुस्किल पर्न थालेको केन्द्रकी कर्मचारी घिमिरे बताउँछिन् ।
जैविक विविधता सूचना केन्द्रको प्रशस्त प्रचार प्रसार गर्दा समेत ओझेलमा परेको जैविक विविधता सूचना केन्द्रका सदस्य वुद्धिमान विश्वकर्माको भनाइ छ । विभिन्न गोष्ठि र सेमिनारबाट सूचना केन्द्रको बारेमा जानकारी गराउँदा समेत किन ओझेलमा प¥यो भन्ने बारेमा आफूहरुले जानकारी पाउन नसकेको विश्वकर्माले बताए ।

Leave a Reply

Your email address will not be published.