राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी सुरु

राजेन्द्र अचार्य
भरतपुर, १२ माघ । चितवन उद्योग संघको आयोजनामा माघ २५ देखि फागुन २ गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शन २०७२ गरिने भएको छ । माघको अन्तिम साता आयोजना हुन लागेको महोत्सवको तयारी तीव्र पारिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रदर्शनीका क्रममा विभिन्न क्षेत्रसँग सम्बन्धित करिब दुई सय वटा स्टलहरु राखिने जनाइएको छ । औद्योगिक प्रदर्शनीका क्रममा उद्योग धन्दा सञ्चालन गर्नको लागि आवश्यक सम्पूर्ण प्रकृया औद्योगिक प्रदर्शनी स्थलबाट जानकारी दिइने चितवन उद्योग संघका उपाध्यक्ष त्रिलोचन कंडेलले जानकारी दिएका छन् । उद्योग स्थापनाका प्रकृया, सञ्चालनको समयमा पर्नसक्ने समस्या, आयव्यय हिसाब राख्दा आउने कठीनाइ, उद्योग सञ्चालनको लागि ऋणको प्रकृयाका लागि समेत समेत परिसरमा नै व्यवस्था हुने कंडेलले बताएका छन् । पहिले पहिलेको भन्दा फरक तरिकाले महोत्सव सञ्चालन गर्ने तयारी भएका कारण समेत व्यक्तिलाई व्यवसायिक बनाउनको लागि औद्योगिक प्रदर्शनीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कंडेलको भनाइ थियो ।
स्वदेशी उद्यमीहरुले उत्पादन गर्ने वस्तु र प्रदान गर्ने सेवाहरु गुणस्तरीय हुनुका साथै सुपथ मूल्यमा उपलब्ध हुनुपर्नेमा उद्योग संघका अध्यक्ष भीमबहादुर पाण्डेले जोड दिए । गुणस्तरीय वस्तु उत्पादन गरेपछि मात्र आयत प्रतिस्थापन गरी डरलाग्दो व्यापार घाटाको स्थिति रोक्न सकिने पाण्डेको भनाइ थियो । प्रदर्शनीलाई भव्यताका साथ सम्पन्न गर्नको लागि मूल समिति, स्टेरिङ कमिटी लगायत विभिन्न २६ वटा उपसमितिहरु गठन गरिएको पाण्डेको भनाइ छ ।
प्रदर्शनी स्थलमा स्वदेशी उत्पादनका बारे जानकारी दिने, नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय रुपमा प्रतिष्पर्धी बनाइ निर्यातको वातावरण तयार गर्ने, कृषि, पर्यटन, स्वास्थ्य, प्राविधिक शिक्षा जस्ता सेवामूलक उद्योगको प्रवद्र्धन गर्ने समेत औद्योगिक प्रदर्शनीको उद्देश्य भएको पाण्डेले बताएका छन् । प्रदर्शनीमा उत्पादनमूलक उद्योग परिसर, निर्माणजन्य उद्योग परिसर, कृषिजन्य उद्योग, सेवा प्रविधिजन्य उद्योगका परिसरहरु स्थापना गरिने पाण्डेले जानकारी दिए । पोल्ट्रीजन्य उत्पादन, मौरीजन्य उत्पादन ताथा माछा र माछाजन्य उत्पादन, मेशिनरीहरु, काष्ठजन्य फर्निचरहरु, प्लाष्टिकका उत्पादनहरु, इलेक्ट्रिकल, तयारी पोशाक, गलैचा, धातुका सामानहरु, वायो प्रोडक्टलगायतका सामग्रीहरुको विशेष प्रदर्शनी राखिएको पाण्डेको भनाइ छ ।
महोत्सव स्थलमा एक्सपो सेन्टर निर्माण गर्न लागिएको कारण आगामी प्रदर्शनीमा टेन्ट टाँग्ने झन्झट नहुने चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीले बताएका छन् । एक्स पो सेन्टर निर्माणपछि विभिन्न प्रदर्शनी गर्नको लागि चितवनमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी कक्ष स्थापना भएकाले समेत चितवनको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने दुवाडीको भनाइ थियो । चितवनमा हुन लागेको औद्योगिक प्रदर्शनीले यहाँको पर्यटन प्रवद्र्धनमा समेत मह¤वपूर्ण टेवा पुग्ने दुवाडीको धारणा छ ।

Leave a Reply

Your email address will not be published.