फिस्लिंग दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो , दुबैको सनाखत

रासस
चितवन, ११ माघ । चितवनको फिस्लिङमा आइतबार तीनवटा गाडी एकापसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

घाइतेमध्ये थप एकजनाको उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । यसअघि आइतबार नै उक्त दुर्घटनामा एकजनाको ज्यान गएको थियो । मृतक दुवैजनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

आइतबार मृत्यु हुनेमा नवलपरासी कावासोती–१३ का ७८ वर्षीय गङ्गामान गुरुङ रहेको प्रहरीले जनाएको छ । यस्तै, राति उपचारका क्रममा चितवन मेडिकल कलेजमा कावासोतीकै ४० वर्षीय आशबहादुर गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी घाइते भएकामध्ये १० जना उपचारपछि घर फर्किएको र बाँकी १९ जनाको अहिले पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये अन्य चारजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ९८७१ नंको ट्रक र कावासोतीबाट काठमाडौँ जाँदै गरेको ना १ ज ५००० नंको माइक्रोबस तथा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको लु १ ख ८७२५ नंको बस एकापसमा ठक्कर खाँदा गएराति सो दुर्घटना भएको हो ।

ट्रकलाई माइक्रोले उछिन्न खोज्दा विपरीत दिशाबाट आउँदै गरेको बसमा ठोक्किएर सो दुर्घटना भएको चितवनका प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । बसमा माइक्रो ठोक्किएपछि पुनः ट्रक माइक्रोको पछाडि ठोक्किन पुगी दुर्घटना भएको थियो ।

माइक्रोका चालक घाइते रहेको र अन्य दुईवटा गाडीका चालकलाई मुग्लिन प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.