जनवर्गीय संगठनले एमाओवादीलाई सरकारबाट फिर्ता आउन चेतावनी

चितवन, १० माघ । देशमा यतिवेला एकीकृत नेकपा माओवादीको समर्थनमा सरकार छ । मातृ पार्टीको समर्थन र सहकार्य रहेको सरकारले जनउत्तरदायित्व निर्वाह गर्न नसकेको आरोप सोही पार्टीका भातृ संगठनहरुले लगाउँदै आएका छन् ।

आइतबार एमाओवादी चितवन अन्तरगतका सात वटा जनबर्गीय संगठन र मोर्चाले चितवनका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन् । उनीहरुले देश र जनता प्रति सरकारमा गरि प्रभावकारी काम गर्न नसके सत्ता छाड्न एमाओवादीलाई उसको भाृत संगठनहरुले चेतावनी दिएका छन् ।

अखिल (क्रान्तिकारी), अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल राष्ट्रिय मुक्ति मोर्चा, एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल जनसाँस्कृतिक महासंघ (क्रान्तिकारी)ले सम्युक्त रुपमा उक्त ज्ञापन पत्र बुझाएका हुन् ।
अनेमसंघ (क्रान्तिकारी)की जिल्ला अध्यक्ष संगीता भट्टराईका अनुसार हिजो सरकार बनाउन आम जनसमूदायको जुन अपेक्षा थियो वर्तमान सरकारले त्यो अपेक्षा पुरा गर्न नसकेकोले सरकारलाई झक्झक्याउन उक्त ज्ञापन पत्र बुझाउनु परेको बताउनुभयो ।

उहाँले आफुहरुले ज्ञापन पत्रमा राष्ट्रियता विरुद्धका गतिविधि रोक्न, महंगी नियन्त्रण गर्न, दैनिक उपभोग्य सामागीको कृतिम अभाव र कालोबजारी रोक्न र विद्यार्थीलाई दिईदै आएको यातायत भाडाको सहुलियत कायम राख्न माग राखिएको जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय चितवन मार्फत प्रधानमन्त्रीको नाममा बुझाइएको उक्त ज्ञापन पत्रमा भट्टराईले भन्नु भएका मागपुरा गर्न सरकार संग अपिल गरिएको छ ।
प्रधानमन्त्रीलाई सम्बोधन गरिएको र ज्ञापन पत्र भनेर लेखिएको भएपनि उक्त पत्रको शुरुआतमा वर्तमान समस्यालाई जटील र जनता आक्रान्त भएको भन्ने भूमिका बाँधिएको छ । चार महिने भारतीय अघोषित नाकाबन्दीले देशको जनजीवन अस्तव्यस्त बन्दै आएको र आम जनसमूदाय प्रताडीत भएको उल्लेख गरिएको भएपनि अन्तसम्म आइपुग्दा अनुरोध गरिएको छ ।

ज्ञापन पत्रमा लेखिएको छ समग्र राष्ट्रिय स्वाधीनता कमजोर बनिरहेको देश असफलता तर्फ गइरहेको परिस्थितिमा सरकारको तर्फबाट ठोस र प्रभाकारी पहलकदमी हुन सकेन । हामी नेपाल सरकारलाई राष्ट्रिय स्वाधीनता, जनजीविका, देश र जनता प्रतिको जनउत्तरदायीत्व आत्मसात गर्दै ठोस पहलकदमीको लागि अपिल गर्दछौ ।

Leave a Reply

Your email address will not be published.