उवासंघका नयां पदाधिकारीलाई भरतपुर उमहानगरपालिकाद्धारा स्वागत

चितवन, १० माघ । भरतपुर उमहानगरपालिका कार्यालयले उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

आइतबार उपमहानगरपालिका कार्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष सहित सम्पूर्ण कार्यसमितिलाई स्वागत गरिएको हो ।

संघका कार्यसमितिलाई उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बराल, वरिष्ठ प्रशासकीय अधिकृत टिकाराम कंडेल, वातावरण शाखा प्रमुख ईश्वर राजभण्डारीलगायतले स्वागत तथा सम्मान गरेका हुन् ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका कार्यसमितिलाई स्वागत गर्दै कार्यकारी अधिकृत महेश बरालले पूराना कुरालाई आफ्ना अडानका रुपमा मात्र लिन नहुने बताएका छन् ।

उद्योग वाणिज्य संघको प्रतिनिधित्व गरेपछि संघकै बोली बोल्नु पर्ने र हिजोका दिनमा लिएका अडानमा लचकता अपनाउँदा अपनाउँदै ती अडानहरु छोड्न नमिल्ने व्यवसायिक धर्म हुनसक्ने बरालको भनाइ छ ।

पूरानो कार्यसमितिसँग उपमहानगरपालिकाको कुरै मिलेको थिएन, कटुतापूर्ण सम्बन्ध थियो भन्न नमिल्ने बताउँदै काम गर्ने क्रममा सहमति नजिक पुगेको बरालले बताएका छन् । भरतपुर उपमहानगरपालिका निर्माणपछिको दोस्रो नगर परिषद्ले उवासंघसँग सहकार्य गरेर अगाडि बढ्ने नीति तयार पारेको बरालको भनाइ छ ।

उपमहानगरपालिकालाई जति उद्योग वाणिज्य संघ चाहिन्छ त्यसरी नै नगर क्षेत्रको विकासको लागि सरकारको आधिकारिक निकाय उपमहानगरपालिका हो भन्ने उद्योग वाणिज्य संघले स्वीकार गर्यो भने दुई संस्था बीचमा द्वन्द्व नहुने बरालले बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित अध्यक्ष राजन गौतमले नगर क्षेत्रको विकासको लागि उद्योग वाणिज्य संघको पहलमात्र पर्याप्त नहुने भन्दै नगरपालिकाको पनि सहयोग आवश्यक रहने बताएका छन् । अटोल्याण्ड निर्माणमा कार्यालयले सहयोग गर्नुपर्ने, तरकारी तथा फलफूल बजारमा जटिल समस्या उत्पन्न हुनसक्ने भएकाले कार्यालयको तुरुन्त ध्यानाकर्षण हुनुपर्ने गौतको भनाइ थियो ।

एकै दिनमा सबै समस्याको सम्बोधन गर्न र समाधान गर्न नसकिने भएकाले सबैको साथ र सहयोग आवश्यक भएको गौतमले बताएका छन् । उद्योग वाणिज्य संघ व्यवसायका व्यवसायिक समस्या समाधानका पाटोमा सबल भएपनि उवासंघको प्रभाव क्षेत्रभन्दा बाहिरको क्षेत्रमा नगरपालिकाको सहयोगको अपेक्षा गरिएको गौतमको भनाइ छ ।

त्यसैगरी, फलफुल तथा तरकारी व्यवसायीहरुको समस्यालाई सम्बोधन गर्न उद्योग वाणिजय संघ चितवन तयार रहेको संघका नवनिर्वाचित कार्यसमितिले जनाएको छ ।

फलफुल तथा तरकारी व्यवसायीहरुले विभिन्न समस्याहरु भोग्नु परेको भन्दै नयां कार्यसमितिले उद्योगी व्यवसायीहरुको हकहितको लागि काम गर्ने बताएको छ । आइतवार फलफुल तथा तरकारी थोक व्यवसायी संघ नारायणगढ, चितवनले आयोजना गरेको उद्योग वाणिज्य संघ चितवनका नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नयां कार्यसमितिले सबैको सल्लाह अनुरुप संघका गतिविधिहरुलाई सञ्चालन गर्ने जनाएको छ ।

सो अवसरमा फलफुल तथा तरकारी थोक व्यवसायी संघले उवासंघ चितवनका नयां कार्यसमितिलाई टोपी र अबिर लगाएर बधाई व्यक्त गरेको थियो ।

उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित अध्यक्ष राजन गौतम प्रमुख अतिथि रहेका सो कार्यक्रममा फलफुल तथा तरकारी थोक व्यवसायी संघ चितवनका सल्लाहकार तथा पुर्व अध्यक्ष्ँ दिपक कुमार उप्रेतीले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष्ँ राजन गौतम, वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ, प्रथम उपाध्यक्ष चुन नारायण श्रेष्ठ, द्धतिय उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, लगायतले बोलेका थिए ।

कार्यक्रम फलफुल तथा तरकारी थोक व्यवसायी संघ चितवनका उपाध्यक्ष दिपक कुमार उप्रतीको अध्यक्ष्ँतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published.