प्रेस युनियनद्धारा संकलित हस्ताक्षर प्रधानमन्त्रीलाई पठाईयो

चितवन, १० माघ । नेपाल पत्रकार महासंघका संस्थापक स्वर्गीय कृष्णप्रसाद भट्टराईको नाममा आमसञ्चार प्रतिष्ठान गराउन नेपाल प्रेस युनियन चितवन शाखाले संकलन गरेको हस्ताक्षर आइतवार प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको छ ।

शनिवार संकलन गरिएको हस्ताक्षर प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा बुझाउन चितवनका प्रजिअ विनोद प्रकाश सिंहलाई बुझाइएको हो । अघिल्लो सरकारले बजेट मार्फत पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा स्थापना गर्न घोषणा गरेको आमसञ्चार प्रशिक्षण राष्ट्रिय प्रतिष्ठानबाट कृष्णप्रसाद भट्राईको नाम हटाउनुपर्ने माग गर्दै विरोध भएपछि भट्राईकै नाममा प्रतिष्ठान स्थापना गर्नुपर्ने माग सहित हस्ताक्ष्ँर संकलन गरिएको थियो ।

आइतवार संकलित हस्ताक्षर बुझाउंदै नेपाल प्रेस युनियन चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले आफ्ना मागकोे सम्बोधन गर्दै कृष्णप्रसाद भट्राईकै नाममा प्रतिष्ठानको स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।

सो अवसरमा बोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले अपेक्ष्ँित मागको विषयमा प्रधानमन्त्रीको कार्यालयसम्म कुरा पुराउने आश्वासन दिलाएका छन् । शनिवार नेपाली कांग्रेसका नेता शेर बहादुर देउवाले हस्ताक्षर गरेर नेपाल प्रेस युनियन चितवन शाखाले गरेको अभियानको सुरुवात गरेका थिए । नेपाल प्रेस युनियनले समेत विज्ञप्ति जारी गरी सूचना तथा सञ्चार मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी प्रतिष्ठानको नाम विगतको भन्दा परिवर्तन गरी राष्ट्रिय आम सञ्चार प्रतिष्ठान राख्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाउन लागेको भन्दै विरोध गरिसकेको छ ।

तर मन्त्रालयले सो बारे हाल कुनै निर्णय नभइसकेको र यसलाई विवादको विषय नबनाउन आग्रह गरेको छ । प्रतिष्ठान गठनले पूर्णता नपाउँदै पक्षपातपूर्ण राजनीति भए त्यसले सञ्चार क्षेत्रमा निराशा ल्याउने भन्दै युनियनले प्रस्तावित निर्णय नसच्चिए आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।