अझै तलब पाएनन् भृकुटी कागज कारखानामा कार्यरत कामदारले तलब

नवलपरासी, १० माघ । नवलपरासी जिल्लाको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना बन्द भएको चार वर्ष पूरा भए पनि त्यहाँ कार्यरत स्थायी कर्मचारीहरुले अझ पनि तलब पाएका छैनन् ।

उक्त भृकुटी कागज कारखानामा कार्यरत ३२८ कर्मचारीले चार वर्षदेखिको तलब पाउन नसकेको सङ्घर्ष समितिका संयोजक दर्शन सापकोटाले जानकारी दिए । कारखानामा कार्यरत कर्मचारीले झन्डै १८ करोड रूपैयाँ तलब नपाएको उनको भनाई छ ।

‘सरकारले उद्योग मन्त्रालय मार्फत कर्मचारीहरुलाई रकम वितरण गर्ने सहमति पटक–पटक भए पनि उद्योग मन्त्रालय र कारखाना व्यवस्थापनले सहमति उल्लङ्घन गर्दै आएको छ’ सापकोटाको भनाई छ । देशकै ठूलो कागज कारखाना बन्द भएको झन्डै पाँच वर्ष बित्न लाग्दासमेत सञ्चालन हुन सकेका छैनन् भने त्यहाँ रहेका सामानसमेत मजदुरहरुले उठाउन दिएका छैनन् । कर्मचारीले अहिलेसम्मको तलब नपाउँदा उनीहरुको दैनिकी जीवन थप कष्टकर बन्दै गएको र दैनिकी चलाउन पनि पछिलो समय असहज भएको हेमराज खनालको भनाई छ । खनालले भने – ‘काम गरेको कागज कारखानाले तलब दिएन् पछिलो समय दैनिकी चलाउन असहज भएको छ’ । उनले थपे तलब दिन्छु भन्दै उद्योग मन्त्रालय भाका पटक–पटक थप गरेको छ तर दिएको छैन् उद्योग मन्त्रालयले कामदारहरुलाई ठगदै छ ।

भृकुटी कागज कारखानामा कार्यरत मजदुर ,उद्योग मन्त्रालय र सञ्चालकबीच २०६९ पुस २ गते, २०७० साउन २ गते र २०७१ वैशाख २६ गते तीन पटकसम्म वार्ता भएको थियो । तीनैपटक सम्झौता भए पनि कार्यान्वयन गर्न उद्योग मन्त्रालय र सञ्चालक तयार नदेखिएपछि कानुनी उपचारका लागि अघि बढ्न बाध्य भएको संयोजक सापकोटाले जानकारी दिए ।

पटक–पटकको धर्ना, अनशन, आन्दोलनपछि वैशाख २६ गते चार बुँदे लिखित सहमति भए पनि कार्यान्वयन गर्न उद्योग मन्त्रालय र सञ्चालकहरुले गैरजिम्मेवारीपन देखाइरहेको सङ्र्घष समितिका पूर्व संयोजक रामु शर्माले जानकारी दिए । पछिल्लो सहमतिअनुसार एक महिनाभित्र बंैकको ब्याज र आधा महिनाबराबरको तलब दिने र चार महिनाभित्र बाँकी सबै तलब दिने सहमति भएको थियो । अहिलेसम्म कार्यान्वयन नभएको भन्दै आन्दोलन सङ्घर्ष समितिले सञ्चालकलाई श्रम ऐनअनुसार कारबाहीको दायरामा ल्याउन आफूहरु श्रम अदालत जाने र कारबाही गराएरै छाड्ने सङ्र्घष समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.