भट्टराईकै नाममा आमसञ्चार प्रतिष्ठान बनाउनु पर्छ : पूर्व प्रधानमन्त्री देउवा (भिडियो सहित )

चितवन, ०९ माघ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल पत्रकार महासंघका संस्थापक सभापति स्व.कृष्णप्रसाद भट्टराईकै नाममा आमसञ्चार प्रतिष्ठान बनाउनु पर्ने बताउनुभएको छ ।
प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको दवावमूलक हस्ताक्षर अभियानको शुभारम्भ गर्दै उहाँले बरिष्ठ व्यक्तिको विषयमा विवाद गर्न नहुने बताउनुभयो । अहिलेको सरकारले बदमासी गरेको भन्दै उहाँले तीन पटकसम्म त्यसको घोर भत्सना गर्दछु भन्नुभयो ।
पूर्व प्रधानमन्त्री देउवाले सरकारलाई पूर्व प्रधानमन्त्री समेत रहनु भएका भट्टराईकै नाममा प्रतिष्ठान बनाएर समग्र पत्रकारिता क्षेत्रको विकासमा सहयोग पु¥याउन पनि आग्रह गर्नुभयो ।


सो अवसरमा उहाँले पार्टी अरु बढी जिवन्त बनाउन आफू सभापतिको उम्मेदवार भएको बताउनुभयो । पार्टी सभापति सुशिल कोईरालाले एक पटकका लागि सभापति बन्ने जनाएको भन्दै अबको सभापति आफू नै भएको बरिष्ठ नेता देउवाले बताउनुभयो । कांग्रेसका भातृ संगठनहरुको महाधिवेशन हुन नसकेको भन्ने जिज्ञासामा उहाँले आफू सभापति भएपछि ६ महिनाभित्र नेविसंघ, महिला संघ, तरुण दल, किसान संघ लगायतका भातृ संगठनहरुको महाधिवेशन गराउने बताउनुभयो ।
आफ्नो उम्मेदवारी पार्टीभित्रको गुटबन्दीको अन्त्य पनि भएको भन्दै उहाँले गिरिजाबाबु र आफूले दुई पार्टी मिलाएको बताउँदै भन्नुभयो “अब गिरिजाबाबु हुनुहुन्न । गुटबन्दीको अन्त्य गर्दै सबै मिलाएर लैजाने अभिभारा मेरो काँधमा छ ।”
सरकार कांग्रेसले ढाल्नु नपर्ने भन्दै उहाँले यस्तै अवस्था रहीरहे आफ्नै कारणले सरकार ढल्ने उहाँले बताउनुभयो । उखान टुक्का र जोकले देश नचल्ने भन्दै उहाँले संयमित भएर जनताका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।
संविधान संशोधनपछि धेरै हदसम्म मधेशको माग सम्बोधन हुने भन्दै बरिष्ठ नेता देउवाले सीमांकनका विषयमा वार्ता मार्फत् समाधान गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दीपक आचार्यले प्रतिष्ठान महासंघका संस्थापक सभापति भट्टराईकै नाममा हुनुपर्ने भन्दै यसलाई सरकारले सम्बोधन नगरे कडा आन्दोलनमा उत्रिने बताउनुभयो । पूर्व प्रधानमन्त्री देउवाले हस्ताक्षर गरेर शुरु भएको दवावमूलक हस्ताक्षर अभियानमा संकलित हस्ताक्षर भोलि जिल्ला प्रशासन कार्यालय चितवन मार्फत् प्रधानमन्त्रीलाई पठाईने प्रेस युनियन चितवनका उपाध्यक्ष पूर्ण शर्माले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.