रुख काटेपछि स्थानीयलाई निकुञ्ज प्रवेशमा रोक

सौराहा अनलाईन
चितवन, ०९ माघ । चितवन राष्ट्रिय निकुञ्जभित्रै सालका रुख काटिएको पाइएपछि स्थानीय जनतालाई निकुञ्ज प्रवेशमा रोक लगाइएको छ । चितवन निकुञ्जले खरखडाई काट्न माडी बगई क्षेत्रमा केही समयका लागि प्रवेश खुला गरेको थियो । तर अवैधरुपमा सालका रुखसमेत काटेको पाइएपछि उक्त कार्यक्रम स्थगन गरी निकुञ्ज प्रवेशमा रोक लगाइएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।
खरखडाई काटेको स्थानमा उपभोक्ता समितिसहितका प्रतिनिधि मिलेर अनुगमनमा जाँदा सालका रुख काटेको पाइएको हो । निकुञ्जमा पस्न अनुमति दिइए पनि ठूला हतियार लिएर जान पाइँदैन ।“तर निकुञ्जभित्रै बन्चरो र दाउलगायतका हतियार लिएर सालका रुख काटेको पाइयो,” सहायक संरक्षण अधिकृत अभिनय पाठकले भन्नुभयो – “साल काटेपछि बाध्य भएर प्रवेश रोक लगाउनु प¥यो ।”
माडी सेक्टरस्थित साविक अयोध्यापुरीको शिवद्वारा भन्ने स्थानमा निकुञ्जभित्रै चार÷पाँच वटा रुख काटेर लैजान ठिक्क पारिएको अवस्थामा फेला पारिएको पाठकले जानकारी दिनुभयो । मानिस भने नरहेकाले कसैलाई पक्राउ गर्न नसकिएको उहाँको भनाइ छ । उक्त घटना भएपछि खरखडाई काट्न दिएको मितिभन्दा अगाडि नै कार्यक्रम रोकिएको छ ।
बर्से्नि एकपटक खर काट्न दिन निकुञ्जले सर्वसाधारणलाई निकुञ्ज प्रवेशमा यसरी खुला गर्ने गरेको थियो । स्थानीय जनताले घर छाउन, बार्न तथा अन्य सजावटका लागि खरखडाई प्रयोग गर्ने गरेका छन् । अघिपछि सर्वसाधारण निकुञ्जमा प्रवेश गर्न नपाउने भए पनि यो समयमा रु २८ को टिकट काटेपछि प्रवेश पाउँछन् ।

Leave a Reply

Your email address will not be published.