अण्डर १९ टोली आज बंगलादेश प्रस्थान /सागको तयारीको लागप् लनटेनिस टोली पनि आजै बैंकक जाने

काठमाडौं, माघ ६
१९ वर्षमुनिको आइसिसी विश्वकप क्रिकेटमा सहभागी हुन नेपाली टोली आज बंगलादेश प्रस्थान गरेको छ ।
माघ १३ देखि फागुन २ गतेसम्म हुने प्रतियोगितमा सहभागी हुने टोली बिहान जेट एयरवेजको उडानबाट बंगलादेशका लागि प्रस्थान गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
नेपाली टोलीलाई हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष कार्यक्रम गरेर विदाई गर्नुभएको थियो । १६ देशको सहभागिता रहने प्रतियोगितमा नेपाल भारत, आइरल्याण्ड र न्युजिल्याण्डसँगै समूह डी मा छ ।

नेपालले पहिलो खेलमा माघ १४ गते न्युजिल्याण्ड, माघ १६ गते आइरल्याण्ड तथा समूहको अन्तिम खेलमा माघ १८ गते भारतसँग खेल्नेछ । समूहको शीर्ष दुईमा रहने टोली अन्तिम ८ मा पुग्ने छन् ।
लनटेनिस टोली आजै बैंकक जाने

भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत लनटेनिसमा सहभागी हुने खेलाडी वैदेशिक प्रशिक्षणका लागि आज थाइल्यान्डको बैंकक जाने भएको छ । सागका लागि समान ४–४ पुरुष÷महिला गरी ८ खेलाडी छनोट भएपनि हाल ३ पुरुष र ३ महिला खेलाडी नेपालबाट थाइल्यान्ड जान लागेका हुन् ।

पुरुषमा संरक्षकभूषण वज्राचार्य, श्रीराम मगर र कमल भण्डारी थाइल्यान्ड जाँदै छन् । अर्का खेलाडी अभिषेक बाँस्तोला अमेरिकामा रहेकाले उनी त्यतैबाट थाइल्यान्ड आउने अखिल नेपाल लनटेनिस संघका अध्यक्ष ज्योति राणाले जानकारी दिनुभयो । महिलामा गंगा शर्मा, विभूति कार्की र विजिशा श्रेष्ठ छन् ।

सागका लागि छानिएकी इरा रावत थाइल्यान्डमै रहेको संघले बताएको छ । टिम प्रशिक्षकमा रेणुदेवी कोण्डा र श्रृष्टि श्रेष्ठ थापा छन् । जितेन्द्र परियार पनि प्रशिक्षकका रुपमा टोलीसंगै थाइल्यान्ड जाँदै छन् ।

पुरुषमा लनटेनिसले २ दशकपछि सहभागिता जनाउन लागेको हो भने महिलाको स्पर्धा सागकै इतिहासमा पहिलोपटक समावेश गरिएको हो । टोलीको हिजो नै बिदाइ भइसकेको छ ।

Leave a Reply

Your email address will not be published.