मधेसी मोर्चालाई विश्वासमा लिने प्रयास, संविधान संशोधन प्रक्रिया २ दिन रोकियो

कार्यदल स्तरमा वार्ता नगर्ने घोषणा गर्दै मधेसी मोर्चा
अब शीर्ष तहमा लेनदेनको कोसिस
५ माघ, काठमाडौं ।
संविधान संशोधन विधेयक पास गर्ने तयारी रोकेर प्रमुख दलहरुले मधेसी मोर्चालाई विश्वासमा लिने प्रयास सुरु गरेका छन् ।
सोमबार कार्यदलको बैठकमा चर्काचर्की भएपछि सहमति नजिक पुगेका तीन दल र मधेसी मोर्चा एकाएक टाढिएका थिए । तर, विहानैबाट सहमतिको प्रयास सुरु भएको छ र त्यो एकहदसम्म सफल भएको छ ।

एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस शीर्ष नेताहरुसँग सम्वाद गरेका छन् भने मधेसी मोर्चाका नेताहरुसँग पनि कुराकानी भएको छ । दिउँसो संसद बैठक अघि सभामुख ओनसरी घर्तीको पहलमा तीन दलको छलफल समेत भएको छ ।

दलहरुको सम्वादपछि संसदमा संविधान संशोधन विधेयकमाथिको दफावार छलफल केही दिनलाई रोकिएको छ । यसअघि मंगलबार छलफल गर्ने र मंगलबार नै पारित गर्ने प्रमुख दलहरुको तयारी थियो । खासगरी एमाले नेतृत्व तत्काल संविधान संशोधन विधेयक पास गर्न चाहन्थ्यो ।
तर, सहमति पक्षधर नेताहरुको पहलमा यो प्रयास रोकिएको छ । सत्तारुढ एमाओवादी र प्रमुख विपक्षी दल कांग्रेसले मधेसी मोर्चासँग सहमतिको प्रयास गर्नु पर्ने बताएपछि एमाले सहमत भएको छ ।

संसदमा संंशोधन विधेयकमाथिको छलफल ७ गतेसम्मका लागि रोकिएको छ र, मधेसी मोर्चासँग सहमतिका लागि अनौपचारिक पहल सुरु भएको छ । ‘सहमतिको विन्दु खोज्ने काम भइरहेको तर, परिणाम नआइसकेकाले सार्वजनिक नगर्ने नेताहरुले बताएका छन् । मधेसी मोर्चाले अघि सारेको ६ बुँदे प्रस्तावलाई आधारमा मानेर सहमतिको विन्दु खोजिनेछ । मोर्चाले अघि सारेको प्रस्तावमा मधेसमा दुई प्रदेश हुने र सीमांकन सम्वन्धी अनुसूची हेफेर गर्ने उल्लेख छ ।

यसलाई लिएर सरकारको नेतृत्व गरिरहेको एमालेले आपत्ति जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले मधेसी मोर्चाले सहमति नै गर्न नचाहेको भन्दै नियतमा प्रश्न गरेका थिए । तीन दलले मोर्चाको प्रस्तावमा ठोस निर्णय नगरेपछि कार्यदलको बैठक भाँडिएको थियो ।

अब शीर्ष स्तरमा मात्र सम्वाद

कार्यदलको बैठक भाँडिएको भोलिपल्ट मधेसी मोर्चाले पत्रकार सम्मेलन नै गरेर कार्यदल भंग भएको घोषणा गरेको छ । तर, वार्ता र सम्वाद भने नछाडेको उसले बताएको छ ।
सहमतिको प्रस्ताव तयार पार्न तीन दल र मधेसी मोर्चाले छुट्टा छुट्टै कार्यदल बनाएका थिए । र, यसमा मोर्चाले अघि सारेको ११ बुँदे मागबारे बुँदागत छलफल भएर सहमति नजिक पुगेका थिए ।
अब कार्यदल स्तरमा सम्वाद आवश्यक नभएको मोर्चाको निष्कर्ष छ । अन्तिम सम्झौता शीर्ष स्तरमा मात्र हुने भएकाले शीर्ष स्तरमा मात्र वार्ता गर्ने घोषणा गरिएको एक नेताले बताए । ‘कार्यदल प्राविधिक विषयका लागि थियो र, यसले सहमतिको बाटो देखाएको छ’ उनले भने-‘अब लेनदेन गर्नु पर्ने भएकाले शीर्ष स्तरमा नै सम्वाद गर्नु पर्ने भनेका हौं । वार्ता छाडेका हैनौं ।’

Leave a Reply

Your email address will not be published.