माल्दिभ्सविरुद्ध नवयुगको हृयाट्रिक, नेपाल बङबन्धु कपको फाइनलमा

५ माघ, काठमाडौं ।
नवयुग श्रेष्ठको हृयाट्रिकको मदतमा माल्दिभ्सविरुद्ध शानदार जित हात पार्दै नेपाल बंगबन्धु कप फुटबलको फाइनलमा पुगेको छ । नेपालले अब उपाधिका लागि शुक्रबार बहराइनसँग खेल्नेछ ।
मंगलबार भएको खेलमा नेपालले माल्दिभ्समाथि ४-१ गोल अन्तरको जित हात पारेको हो । माल्दिभ्सविरुद्ध नेपालले सन् १९९९ पछि पहिलो पटक जित हात पारेको हो ।
ढाकास्थित बङबन्धु नेशनल स्टेडियममा भएको खेलमा नेपालले ३० औं मिनेटमा नवयुग श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । रविन श्रेष्ठको पासमा विमल घर्ती मगरको प्रहार बारमा लागेर फर्किर्एको बलमा नवयुगले गोल गरेका हुन् । उनको यो पहिलो अन्तराष्ट्रिय गोल समेत हो ।

पहिलो हाफको अन्तिमतिर गोलरक्षक विकेश कुथूले उत्कृष्ट बचाउ गर्दै नेपालको अग्रता कायमै राखे । इशा इमालीको प्रहार कुथूले पन्च गरेर मुस्किलले बचाएका हुन् ।
दोस्रो हाफमा नेपालले आफ्नो शानदार प्रदर्शन कायमै राख्यो । ५३ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । ६२ औं मिनेटमा नवयुगले दोस्रो गोल गरे ।
७७ औं मिनेटमा माल्दिभ्सका नासिद अहमदले गोल गर्दै खेलमा फर्कने प्रयास गरे । तर, अन्तिममा नवयुगले गोल गर्दै हृयाट्रिक मात्र पुरा गरेनन्, नेपाललाई ४-१ को शानदार जित दिलाएका छन् ।

Leave a Reply

Your email address will not be published.