मीनेन्द्र रिजाल भन्छन्– ‘सभापतिमा फेरि कोइराला’

चितवन, माघ ०५ । नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले ऐतिहासिक महत्वका काम सम्पन्न गर्न सकेकाले कांग्रेसको आसन्न महाधिवेशनले सभापतिमा पुनः सुशील कोइरालालाई निवार्चित गराउने बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा डा। रिजालले ६६ वर्षअघि बिपी कोइरालाले गरेको जनताको प्रतिनिधिमार्फत संविधान बनाउने सङ्कल्प सुशील कोइरालाले पूरा गरेको बताए ।
कतिपय काम सम्पन्न नभएका भए पनि कांग्रेसलाई पहिलो ठूलो पार्टी बनाउन कोइराला सफल भएको उनको भनाई थियो । कोइरालाकै शालीनताका कारण दोस्रो संविधानसभाले संविधान बनाउन सकेको उनले बताए ।
उनले अहिले सरकार परिवर्तन गर्ने समय नभएको बताउँदै प्रमुख विपक्षी दलको हिसाबले कांग्रेसले सरकारलाई सुझाव र सहयोग गर्ने स्पष्ट पारे ।
मधेस र मधेस आन्दोलनका विषयमा हेर्ने दृष्टिकोण एमालेसँग नमिलेकै कारण सरकारमा कांग्रेस नगएको भन्दै उनले विषयवस्तुलाई गम्भीर रुपमा लिन प्रधानमन्त्रीलाई आग्रहसमेत गरे ।
यथाशक्य छिटो नाका खुलाउने विषयमा सरकार लाग्नुपर्ने बताउँदै डा.रिजालले अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा दलहरु नभएर सरकार नै बोल्नुपर्ने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published.