भूकम्प पीडितलाई हंसको सहयोग

चितवन, ०५ माघ । हंस बहुउदेश्यीय सहकारी संस्था लिमिटेड नारायणगढले दाहाखानीका भूकम्प
पीडितहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । संस्थाका अध्यक्ष दिनेश
कुमार चुकेको नेतृत्वमा गएको सांसद कृष्ण भक्त पोखरेल र गीता वाग्ले सहित
सहकारी पदाधिकारीको टोलीले दाहाखानी ८ को सिमलढापमा रहेको भूकम्प
पीडित शिविरमा पुगी राहत स्वरुप चामल, दाल ,नुन तेल वितरण गरेको हो ।
शिविरमा दाहाखानी ६ कुयलघारीबाट विस्थापित भएका एक सय २७ घरधुरी भूकम्प पीडितहरु अस्थायी टहरा निर्माण गरी बस्दै आएका छन् । टोलीले प्रतिघर ३० किलोको एक बोरा चामल, ३ केजी दाल, १ लिटर तेल र एक पोका नुन वितरण
गरेको सहकारीका अध्यक्ष दिनेश कुमार चुकेले बताएका छिन् । भूकम्पका कारण
घरबार बिहिन बनेर अस्थायी टहरामा बसेकाहरुको दैनिक केहि भएपनि सहज होस भन्ने हेतुते संस्थाले तत्काल राहत स्वरुप खाद्यान्न वितरण गरेको चुकेको भनाइ छ ।
संस्थाले करिब दुई लाख रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेको संस्थाका
सदस्य प्राध्यापक डाक्टर होमनाथ सापकोटाले बताएका छन् । जाडोका कारण
अस्थायी शिविरमा भूकम्प पीडितहरु निकै कष्टकर तवरले दैनिकी गुजारेका छन् ।
महिला तथा बाल बच्चाको लागि झनै कष्टकर भएको भूकम्प पीडित ज्ञानु सुनारले बताइन् । राहत वितरण कार्यक्रममा सांसदहरु कृष्णभक्त पोखरेल र गीता वाग्लेले भूकम्प पीडितहरुको स्थायी बासस्थानको लागि पहल गरिरहेको बताएका छन् । भूकम्प पीडित जनतालाई दीर्घकालिन राहतको कार्यक्रम समेत सञ्चालन गर्ने सांसदहरुले जानकारी दिएका छन् । जाडोका कारण ज्यान जोगाउनै कठिन भएको भन्दै आफुहरुलाई तत्कालै स्थाई बसोबास र न्यानो कपडा उपलब्ध गराउन भूकम्प पीडितहरुले माग गरेका थिए ।
भूकम्पका कारण मानसिक तनाव खेपेका स्थानीयहरुलाई स्थायी बसोबास नहुँदा थप मानसिक तनाव सिर्जना भएको स्थानीय राजनीतिक अगुवा ठुलोकान्छा थापाले बताए। यसैबीच संस्थाले राप्रावि सिमलढापका विद्यार्थीहरुलाई शैक्षिक सामग्री समेत वितरण गरेको छ । विद्यालयमा रहेका ६५ जना विद्यार्थीलाई करिब ३० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरेको सहकारीका उपाध्यक्ष बाबुराम अधिकारीले जानकारी दिए । शैक्षिक सामग्रीले भूकम्प पीडित विद्यार्थीहरुको लागि पनि राहत पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पार्वती गुरुङले बताइन् ।

Leave a Reply

Your email address will not be published.