‘अस्थायी शिक्षकको समस्या चाँडै समाधान हुन्छ’

चितवन, ३ माघ । शिक्षा सेवा आयोगका अध्यक्ष ताना गौतमले अस्थायी शिक्षकहरुको समस्या चाँडै नै समाधान हुने बताएका छन् । चितवन उच्च माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन समारोहमा भाग लिन चितवन आएका गौतमले आभास टेलिभिजनसँग कुराकानी गर्दै अस्थायी शिक्षकहरुको समस्या समाधान गर्नका लागि व्यवस्थापिका संसदमा शिक्षा ऐन संशोधन विधेयक दर्ता भएको जानकारी दिए ।
नयाँ विधेयक अनुसार पुराना अस्थायी शिक्षकहरुलाई अब अन्तिम पटक परीक्षा दिने अवसर सिर्जना हुने गौतमले बताएका छन् । शिक्षा सेवा आयोगको परीक्षामा सामेल हुने अथवा उपदानमा स्वेच्छिक अवकास लिने अस्थायी शिक्षकलाई रोज्न दिइने समेत गौतमले जानकारी दिएका छन् । सरकारले संसदमा पठाएको विधेयकका कारण लामो समयदेखि रहदै आएको अस्थायी शिक्षकको समस्या चाँडै नै हल हुने आफ्नो विश्वास रहेको गौतमले जानकारी दिए ।
विद्यालयको वर्षिकोत्सव कार्यक्रममा अभिभावकबीचमा टिटि सटपुट प्रतियोगिता समेत गरिएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति समेत राखेका छन् । विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर विद्यालयले सञ्चालन गरेको विभिन्न प्रतियोगिताका विजेताहरुलाई समेत पुरस्कार प्रधान गरिएको थियो । कार्यक्रम चितवन उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र रेग्मीको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published.