नवलपरासीमा चरा गणना सुरु

नवलपरासी, ३ माघ । नवलपरासी जिल्लाको सिमसार क्षेत्रमा पाइने चराको गणना कार्य आइतवारदेखि सुरु भएको छ । नवलपरासीको नारायणी नदी किनार आसपासमा रहेका सिमसार क्षेत्रमा पाइने चराको गणनाका लागि दुई समूह खटिएको नेपाल पक्षी संरक्षण संघका केन्द्रीय सदस्य धनबहादुर चौधरीले जानकारी दिएका छन् ।
थारु भिलेज रिसोर्टको व्यवस्थापनमा बर्षेनि नवलपरासीका सिमसार क्षेत्रमा चरा गणना हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र ब्यवस्थापन समिति, चोरी शिकारी नियन्त्रण युवा जागरण अभियान, नेपाल पक्षी संरक्षण संघ, वर्ड एजुकेशन सोसाइटी(सौराहा), हिमालयन नेचर (काठमाडौं), डब्लुडब्लुएफ ताल परियोजना, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतको सहभागिता र सहयोगमा संरक्षणकर्मी संस्थाहरुको सक्रियतामा चितवन राष्ट्रिय निकुञ्ज वरपर बासस्थान बनाएका पक्षीहरुको गणना कार्य सुरु भएको छ । नारायणी, राप्ती नदी, देवी ताल, कमल ताल, लामे ताललगायतका मुख्य क्षेत्रहरुमा पक्षी गणना सुरु गरिएको चौधरीले जानकारी दिएका छन् ।
प्रकृतिबिद् भागिरथ चौधरीको नेतृत्वमा १३ जना संरक्षणकर्मीको सहभागितामा अमलटारीदेखि त्रिबेणीसम्म र नेपाल पक्षी संरक्षण संघका केन्द्रीय सदस्य धनबहादुर चौधरीको नेतृत्वमा १५ जनाको समुहले सिक्रौलीदेखि अमलटारीसम्म नारायणी नदीको उत्तरी भङ्गालोमा चरा गणना गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा पाईने एक सय ११ प्रजाति मध्ये गत बर्ष ४७ प्रजाति मात्र भेटिएपछि संरक्षणकर्मीले पक्षीको खोजी र अनुसन्धानलाई तीब्रता दिएका छन् । भूडीफोर, केरेङ्गकुरुङ्ग, चखेवाको संख्या बर्षेनी घटेको छ । आगन्तुक चराहरुसमेत आउन छाडेकाले वातारणीय सन्तुलनका लागि समेत योजना बनाउन पक्षी गणनाले योगदान गरेको छ ।
विश्वमा पाईने १० प्रतिशत पक्षीहरु नेपालमा पाईने गरेका छन् । जसमध्ये ३३ प्रजातिका पक्षी दुर्लभ मानिन्छन् । विश्वमा दुर्लभ मानिएका २६ प्रजातिका पक्षी चितवन राष्ट्रिय निकुञ्जमा नै पाईने गरेको छ । जसमा ११ प्रजाति सिमसारमा आश्रित रहेको केन्द्रीय सदस्य चौधरीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.