अचेत रहेका प्रजातन्त्र सेनानी जोशीलाई राज्यले वास्ता गरेन

रासस
चितवन, माघ ३ । पञ्चायती व्यवस्थाविरुद्ध लागेकै कारण आठ वर्ष प्रवासी जीवन बिताएका र सर्वस्वहरणमा परेकाका ९२ वर्षीय प्रजातन्त्र सेनानी नारायणप्रसाद जोशी लामो समययतादेखि अचेत अवस्थामा छन् ।
विसं २०५३ मा पक्षघात भएपछि ओछ्यानमै रहेका जोशी पाँच वर्षयता बोल्न पनि सक्दैनन । पछिल्लो समय दिसामा रगत देखिएपछि उनी भरतपुर अस्पतालमा उपचाररत छन् ।
अस्पतालका वरिष्ठ फिजिसियन डा। प्रकाश खतिवडाका अनुसार आन्द्रामा कतै घाउ भएका कारण रगत देखिएको अनुमान गरिएको छ । औषधिले रगत रोकेपछि उनको स्वास्थ्य सुधार हुँदै गइरहेको डा। खतिवडाले बताए ।
छ दिनअघि भरतपुर अस्पतालमा भर्ना भएका जोशीलाई तीन दिन सघन उपचार कक्षमा राखेर अहिले ‘क्याविन’मा सारिएको छ ।
विगतमा विद्यार्थी नेतासमेत रहेका जोशीका कान्छा छोरा अभिमन्युका अनुसार हालसम्म उनलाई पार्टी र सरकारले कुनै सहयोग गरेको छैन ।
विसं १९७९ मा पर्वतको कुश्मामा जन्मिएका जोशीले २००७ सालको आन्दोलनमा श्रीभद्र शर्मासँगै पश्चिम नेपालको गोरखा, तनहुँ क्षेत्रको नेतृत्व गरेका थिए ।
जेठो छोरा गोविन्दका अनुसार उनी २०१४ सालमा चितवनको गौरीगञ्जमा आठ विघा जग्गा लिएर त्यहीँ बसोबास गर्न थालेका हुन् । विसं २०१७ मा राजा महेन्द्रले ‘कु’ गरेसँगै जोशी परिवार प्रवासी हुन पुग्यो । भारतको नरकटीयागञ्जमा आठ वर्ष बस्दा तत्कालीन पञ्चायती शासनले उनको सर्वस्वहरण गर्‍यो ।
प्रवासबाट फर्किएपछि २०२६ सालमा जोशी परिवार पश्चिम चितवनको दिव्यनगरको खद्रौलीमा बसोबास गर्न थाल्यो । पञ्चायती शासनको विरोधकै क्रममा मोर्चा गर्न २०३३ सालमा जोशी परिवार कुश्मामा बसोबास बस्न थाल्यो ।
गोविन्दका अनुसार कुश्मामा परिवारले थापेको किराना पसल तत्कालीन पञ्चले लुटेर जोशी परिवारलाई खेद्यो ।
त्यसपछि काठमाडौं पुगेका जोशीलाई २०४६ सालमा तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईले पर्वत जिल्ला समितिको कावा सभापतिको रुपमा पठाएको थियो । त्यसपछि २०४८ सालमा जिल्ला अधिवेशन गरेर जोशी पुनः सभापति भए ।
त्यसको केही वर्षपछि नै थला पर्नुभएका जोशी अहिले पनि अचेत नै छन् । जोशीका तीन छोरा र चार छोरी छन् । जोशीकी ८२ वर्षीया श्रीमती सुनदेवी पहिलो संविधानसभाको निर्वाचनमा समानुपातिकतर्फबाट सभासद् रहेकी थिइन् ।
छोरा अभिमन्युका अनुसार गोपालमान श्रेष्ठ ९ज्वाइँ० मन्त्री रहँदा उनको उपचारका लागि राज्यका तर्फबाट सहयोगको प्रक्रिया अगाडि बढेको भए पनि त्यसले मूर्त रुप लिन पाएन । जोशीले राज्य र पार्टीका तर्फबाट कुनै पनि सहयोग पाएका छैनन् ।
यसैबीच, नेपाली काँग्रेस केन्द्रीय समितिले आज एक विज्ञप्ति जारी गरी जोशीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

Leave a Reply

Your email address will not be published.