गोरखामा बिक्री भयो २६ करोडको सुन्तला

 

गोरखा, ०२ माघ । सुन्तला बिक्री गरेर गोरखाका कृषकले यस वर्ष २६ करोड आम्दानी लिएका छन् । गत वर्षको तुलनामा रु पाँच करोड बढी आम्दानी भएको कृषकको भनाइ छ ।

यचबलनभसुन्तलाखेती गरिएका क्षेत्र थप भएको, उत्पादन बढेको र प्रतिकेजी मूल्य पनि महँगिएपछि कृषकले मनग्य आम्दानी लिएका हुन् ।

जिल्लाको मनकामना, ताङ्लीचोक, घैरुङ, मकैसिङ, फुजेल, बक्राङ, ताप्ले, फिनाम, नारेश्वर, मिरकोट, देउराली, छोप्राक, हर्मीलगायत क्षेत्रका कृषकले सुन्तला बिक्री गरी आएको पैसाले घर, घडेरी किन्नुको साथै जीविकोपार्जनमा सुधार ल्याएका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार सुन्तला बेचेर मनग्य आम्दानी हुन थालेपछि खेती गर्ने बर्सेनि बढ्दै गएका छन् । सुन्तलाको बिरुवाको माग पनि बढ्दो छ ।

गत वर्ष ९७३ हेक्टर क्षेत्रफलमा उत्पादन भएको सुन्तला बढेर यो वर्ष एक हजार २३ हेक्टर क्षेत्रफलमा पुगेको वरिष्ठ कृषि विकास अधिकृत तीर्थकुमार श्रेष्ठले जानकारी दिनुभयो । सुन्तलाखेतीमा कृषकको आकर्षण बढेको उहाँले बताउनुभयो । गत वर्षको तथ्याङ्क हेर्दा प्रतिकेजी रु २३ देखि ३४ मा खुद्रा सुन्तला बिक्री भएको देखिन्छ । अहिले त्यो बढेर प्रतिकेजी रु ४० नाघेको श्रेष्ठले जानकारी दिए ।

कार्यालयले सुन्तलाको बगैँचा सुधारको कार्यक्रम पनि गर्दै आएको छ । गत वर्ष १९ लाख रूपैयाँ बगैँचा सुधारमा लगानी गरिएको थियो ।

कृषकले सुन्तलाको बगैँचाको स्याहार गर्न नसक्दा उत्पादन कम हुँदै गएको र बोटबिरुवा सुक्दै गएको भन्दै कार्यालयले बगैँचा सुधार, मलजल र सिँचाइको व्यवस्था मिलाउन कृषकलाई अनुदान सहयोग गर्दै आएको छ ।

विशेषगरी ताङ्लीचोक, मकैसिङ र घैरुङ गाविस क्षेत्रमा लगाइएका सुन्तलाको बोट मर्दै गएको कृषकको गुनासो छ ।

ती क्षेत्रमा बगैँचा सुधारका कार्यक्रम लागू गरिएको बताउँदै श्रेष्ठले पुराना बगैँचा मासेर नयाँ बिरुवा लगाउन कृषकलाई आग्रह गर्नुभएको छ । बोट पुरानो र बूढो भएकाले उत्पादन नदिएको हुनसक्ने उनको अनुमान छ ।

बजारमा प्रतिकेजी सुन्तलाको मूल्य ८० रूपैयाँ पर्छ । गोरखा बजार, आरुघाट, पालुङटार, तनहुँको खैरेनी, पोखरा, चितवन, मुग्लिन र काठमाडौँमा मनकामनाको सुन्तला बिक्री हुँदै आएको छ ।

पछिल्लो समय गोरखामा उत्पादन भएका तथा अन्य जिल्लामा उत्पादन भएका सुन्तला मनकामनाको भन्दै बिक्री गर्ने क्रमः बढेको पाइएको छ । अन्यत्र उत्पादन भएका सुन्तला अमिलो हुने भएकाले मनकामनाको ब्रान्ड बिकाएर सुन्तलाको बिक्री बढाउने क्रम बढेको हो ।

Leave a Reply

Your email address will not be published.