रक्सौल बाहेकका नाका सहज हुँदै

माघ २
रक्सौल बाहेक अरु नाकाबाट इन्धन आयात बढ्न थालेको छ । अहिले सबै नाकाबाट दैनिक एकसय भन्दा धेरै इन्धनका गाडी नेपाल भित्रने गरेका भन्सार विभागले जनाएको छ ।

विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाका अनुसार शुक्रबार डिजेलका ५९, पेट्रोलका २०, ग्यास बुलेट २५, हवाइ इन्धन चार र मट्टितेल बोकेका दुई ट्याङकर गरी एक सय १० वटा इन्धनका गाडी नेपाल भित्रिएका छन् ।

कात्तिक अन्तिमसम्म इन्धन बोकेका झण्डै २० वटा मात्र गाडी नेपाल भित्रने गरेकामा अहिले बढेर एकसय भन्दा धेरै भित्रने गरेका उहाँले बताउनुभयो । तराई मधेस आन्दोलन अघि विभिन्न नाकाबाट दैनिक तीन सयदेखि साढे तीन सयसम्म इन्धनका गाडी नेपाल भित्रने गरेका थिए ।

अहिले अरु नाका सहज हुँदै गएपनि रक्सौल नाकाबाट सामान ढुवानी गर्न नसक्दा समस्या भैरहेको हो । महानिर्देशक ढुंगानाका अनुसार अहिले सबैभन्दा धेरै डिजेल नेपाल भित्रिरहेको छ ।

हिजो डिजेल बोकेका ५९ वटा गाडी नेपाल आएकामा अस्ति १ सय १५ वटा ट्यांकर नेपाल भित्रिएका थिए । त्यसअघि बुधबार एक सय २१ वटा ट्याङकरमा डिजेल ल्याइएको भंसार विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.