पुनर्निर्माण महाअभियान आजदेखि सुरु हुँदै

काठमाडौँ, २ माघ
विनाशकारी भूकम्प गएको ९ महिनापछि आजदेखि सरकारले पुनर्निर्माण महाअभियान सुरु गर्दैछ । काठमाण्डु र ललितपुरको दुई ठाउँबाट एकै पटक पुनःनिर्माण अभियान सुरु हुनेछ ।

राष्ट्रपति विद्या भण्डारीले भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी र प्रधानमन्त्री केपी ओलीले ललितपुरको बुङ्गमतिमा क्षतिग्रस्त पुरातात्विक सम्पदा पुनर्निमाणको कार्ययोजना सार्वजनिक गरेर पुनर्निमाण महाअभियान सुरु गरिनेछ ।

पौने १२ बजे अभियानको सुरु हुने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । पुरातात्विक संरचनाको पुनःनिर्माणको काम तत्काल सुरु हुनेछ भने सर्वसाधारणको घर भने वैशाखपछि मात्रै बनाइनेछ ।

प्राधिकरणले पुनःनिर्माणको कामलाई तीव्रता दिन जनशक्ति, आर्थिक स्रोत तथा प्रविधि जुटाउने तयारी थालेको छ । प्राधिकरणले भवन क्षति सर्भेक्षणका लागि आगामी १० दिनभित्र ५०० जना र एक महिनाभित्रमा एक हजार ५०० जना इञ्जिनियरलाई गाउँगाउँमा पठाउने तयारी गरेको छ ।

पुनःनिर्माणको काम तीव्ररुपमा अघि बढाउन प्राधिकरणले केन्द्रीय कार्यालयबाहेक भूकम्पबाट बढी प्रभावित १४ जिल्लाको पुनःनिर्माणका लागि ६ उपक्षेत्रीय र बाँकी भूकम्प प्रभावित जिल्लाका लागि एक उपक्षेत्रीय कार्यालयको व्यवस्था गरिनेछ ।

पुनर्निमाणको कुल बजेट मध्ये दातृ निकायले करिव ४ खर्ब रुपैया सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । बैशाख १२ गते गएको महाभूकम्पमा परी आठ हजारभन्दा बढीले ज्यान गुमाएका थिए भने पाँच लाखभन्दा बढी नीजि घर क्षतिग्रस्त बनेका थिए ।
१९९० सालको महाभूकम्पको सम्झना गर्दै हरेक वर्ष माघ २ गते भूकम्पिय सुरक्षा दिवस मनाउने गरिन्थ्यो । त्यसै दिनको सन्दर्भमा यसवर्ष भने गत वैशाखको भूकम्प र त्यसले पुर्याएको क्षतिको पुननिर्माणको महाअभियान शुरु गरिन लागिएको हो ।

 

Leave a Reply

Your email address will not be published.