कांग्रेस सरकारमा आए एमाओवादी मन्त्रालय छाड्न तयार छ : दाहाल

काठमाडौं, पुस ३० । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानको सहज कार्यान्वयन र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सरकारमा सहभागी हुन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

एमाओवादीले विहीबार राजधानीमा आयोजना गरेको प्रदेश नम्बर–३ का अगुवा कार्यकर्ताको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा परिणत गर्नुपर्नेमा जोड दिए ।

‘मुलुकमा संकट परेका बेला सत्तापक्ष र प्रतिपक्ष हुँदैन भन्ने विषयमा आत्मसात् गरेर कांग्रेस पनि वर्तमान सरकारमा सहभागी हुनुपर्छ, कांग्रेस सरकारमा आउने अवस्था आए आफ्नो पार्टीले लिएका मन्त्रालय छाड्न तयार छ’–नेता दाहालले भने–‘आग्रह पूर्वाग्रह राखेर मुलुक चल्न सक्दैन, संकटको समाधान गर्न सबै ठूला दल नमिली सुखै छैन ।’

उनले भूकम्प र अघोषित नाकाबन्दीबाट मुलुकलाई परेको संकटबाट पार लगाउन पनि सबै पक्षको मतैक्य हुनुपर्ने बताए । ‘हामी जस्तोसुकै दुःख पनि सहन तयार छौँ तर राष्ट्रको शिर झुक्न दिन्नौं’–उनले भने–‘राजनीतिक नेतृत्वको सानो गल्तीले पनि मुलुक समस्यामा पर्ने, पार्टी बिग्रने हुँदोरहेछ, त्यो गल्ती सच्चाउँदा मुलुक अगाडि बढ्ने र पार्टी बन्ने रहेछ ।’

अध्यक्ष दाहालले पार्टीको पछिल्लो केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको आधार तयार पारेको र सोही आधारमा विचारको विकास गर्न जरुरी रहेको स्पस्ट पारे ।

उनले पार्टीको संगठन निर्माणमा ध्यान केन्द्रित गर्न र जनताका दैनिक जनजीवनसँग जोडिन र सहभागी बन्न कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष दाहालले अगाडि भने–‘अब सबै माओवादी क्रान्तिकारीलाई एकजुट बनाउनु पर्छ । विचार र राजनीतिमा एकमत भएर नै पार्टी एकता हुन्छ ।’

कार्यक्रममा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, स्थायी समिति सदस्य लोकेन्द्र विष्ट मगर, सल्लाहकार समितिका संयोजक नन्दकुमार प्रसाइँ, पोलिटब्युरो सदस्य लीलामणि पोखरेल, शशि श्रेष्ठ, झक्कु सुवेदीलगायतले प्रशिक्षण दिएका थिए । रासस

Leave a Reply

Your email address will not be published.