नारायणी नगरपालिकाको आठ करोड ६२ लाख बढी बजेट विनियोजन

 

चितवन, ३० पुस । पश्चिम चितवनमा रहेको नारायणी नगरपालिकाले आर्थिक वर्ष २०७३/०७४ को लागि आठ करोड ६२ लाख ३८ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाको बिहिबार सम्पन्न तेस्रो नगर अधिवेशनमा कार्यकारी अधिकृत रमेश सुवेदीले आठ करोड ६२ लाख रुपैयाँ बराबरको अनुमानित आयव्यय प्रस्तुत गरेका थिए । नगरपालिकाले नगर अनुदानबाट तीन करोड ७१ लाख, नगरपालिकाको भवन निर्माणका लागि एक करोड, स्थानीय विकास शुल्क ८७ लाख १७ हजार, आन्तरिक स्रोत एक करोड ५३ लाख, मालपोत रजिष्ट्रेशन बापत ५५ लाख, जिल्ला विकास समितिबाट राजश्व दुई लाख र वातावरण कार्यक्रम तर्फबाट एक करोड रुपैयाँ आम्दानी गर्ने कार्यकारी अधिकृत सुवेदीले बताएका छन् ।

त्यसैगरी, लक्षित वर्गको कार्यक्रम अन्तर्गत एक करोड २२ लाख, लक्षित कार्यक्रम अन्तर्गत कृषिको लागि ४५ लाख, गैर लक्षित कार्यक्रम तीन करोड २७ लाख, कार्यालय भवन निर्माण एक करोड, चालु खर्च ७० लाख र वातावरण कार्यक्रम एक करोड आठ लाख गरि आठ करोड ६२ लाख रुपैयाँ खर्च हुने सुवेदीले बताएका छन् । नगरपालिकाले प्रजातान्त्रिक प्रकृयाको विकास गर्दै पारदर्शी व्यवहार, जनउत्तरदायित्व बोध र जनताको सहभागितामा आधारित उच्च, गुणस्तरिय र समुन्नत नागरिक समाजको स्थापना गर्ने दीर्घकालिन लक्ष्य रहेको कार्यकारी अधिकृत सुवेदीले जानकारी दिए । नारायणी नगरपालिका पर्यटकीय हिसाबले अगाडि बढ्दै गएका कारण नगरपालिका क्षेत्रमा घरेलु, साना तथा मझौला उद्योगको प्रवद्र्धनमा उत्प्रेरणाको काम गर्ने, गराउने योजना रहेको सुवेदीले बताएका छन्.। नगरपालिका क्षेत्र भित्रको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाको संरक्षण, सम्वद्र्धन विस्तार र सदुपयोग गर्ने गराउने योजना रहेको सुवेदीले बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि चितवन क्षेत्र नम्बर ५ का सांसद विक्रम पाण्डेले नारायणी नगरपालिकाको विकासको लागि आफूले सक्दो पहल गर्ने बताएका छन् । पर्यटकीय गन्तव्य तर्फ उन्मुख रहेको नगरपालिकालाई व्यवस्थित गर्नको लागि सबैजनाको सहयोग अपरिहार्य रहेको पाण्डेले बताएका छन् ।

तेस्रो नगर अधिवेशनमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलले नारायणी नगरपालिका वातावरणमैत्री नगरपालिका भएकाले जैविक विविधता संरक्षणमा लाग्नुपर्ने बताएका छन् ।

नारायणी नगरपालिकाका कार्यकारी अधिकृत रमेश सुवेदीको अध्यक्षताको भएको कार्यक्रममा सांसद उमेश श्रेष्ठ, धनिराम पौडेल, नेकपा एमाले चितवनका पूर्व सचिव विजय सुवेदी, नेकपा माओवदी चितवनकी अम्बिका मुडबरी, राप्रपा चितवनका अध्यक्ष रामहरि कंडेललगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.