उद्योग बाणिज्य संघ चितवनको निर्बाचनले दिएको सन्देश 

मोहन बस्याल
चितवन । परम्परागत पाईपलाईन पछ्याउदै बरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बन्ने क्रममा रहेका सहनलाल प्रधानलाई पछि पार्दै कार्यसमिति सदस्यको मात्र अनुभव भएका राजन गौतमले उद्योग बाणिज्य संघ चितवनको अध्यक्षमा निर्बाचित भएपछि अहिले यो चितवनको नारायणगढ र आसपासका चोक चौतारोमा चर्चाको बिषय बनेको छ ।

mohan bashyal अघिल्लो अधिवेशनमा २६ मतको अन्तरले बरिष्ठ उपाध्यक्षमा उनै सहन प्रधानसंग पराजित बनेका गौतमको विजय धेरैका लागि अनेपेक्षित नै थियो । तर गौतमको पछाडी लागेको समुहले अघिल्लो बर्षको पराजयलाई नै अनेपेक्षित मानेको थियो । यस पटक दुई सय ४४ मतको अन्तरले सहनलाई उनले पछाडी पारे ।
अनुभव र व्यवहारका हिसाबले सहन प्रधान अध्यक्ष हुन पुर्ण रुपमा योग्य हुँदा हुँदै पनि उद्योग बाणिज्यसंघ चितवनका सदस्यहरुले किन प्रधानलाई छाडेर कम अनुभव भएका गौतमलाई रोजे यो पक्कै पछि सोधी खोजी र समिक्षाको बिषय हो । यहाँ गौतम र प्रधान दुईवटा मनोविज्ञानका मानिसका प्रतिनिधि पात्र हुन् ।
राजनिति :
सहन प्रधान आफैमा राजनितिक रुपमा सकृय पात्र नभएपनि उनका पिता के एल भुषण नेकपा एमाले कार्यकर्ताको रुपमा परिचित नाम हो । त्यसले सहनलाई शुरु देखिनै एमाले निकटको भनेर परिचित गराएको थियो । यद्यपी पार्टीगत रुपमा विभेद गर्ने उनको स्वभाव र शैलि देखिदैन । लगातार रुपमा एमाले निकटका व्यवसायीले नेतृत्व गर्दै आएपछि कांग्रेश निकटका व्यवसायीलाई सह्य थिएन । रोलक्रममा पनि चुन नाराणण श्रेष्ठ बाहेक अन्य व्यवसायी सिधा मार्गमा नभएकाले यसै बिचमा केही गर्नुपर्ने हुट हुटी थियो । जस्ले राजन गौतमको उमेद्वारीको सृजना गर्यो । गतिलो नतिजा पनि हात पार्यो । संघका सदस्य भएका एमाले निकटका व्यवसायीले पनि सहनबाट एमाले भएकै कारणले बिशेष सहयोग पाएका थिएनन् । त्यसैले सहनका लागि काधै थाप्नुपर्ने उनीहरुले पनि ठानेनन् ।
मिडिया :
सहनलाल प्रधान आफै मिडिया ब्यवसायीहुन् । उनी मिडियाकर्मीहरु संग राम्रै संगत राख्छन् तर त्यो घेरा सिमिति छ । जो त्यो घेरा भित्र छ उनका लागि सहन प्रधान महान छन् तर त्यो घेरा भन्दा बाहिरका पत्रकारले उनलाई विभेदीको नजरले हेर्छ । राजनितिक हिसाबले अरु हिसाबले बाहिर सहनको पक्षमा देखिएपछि धेरै मिडियाकर्मिहरु सहनको विस्थापनका लागि सकृय थिए । सबै संचारकर्मिसंग समदुरी कायम गर्न नसक्नु उनका लागि महंगो सावित भयो ।
मेला र भुमिका : 
सहन प्रधान स्थानीय सिनर्जी एफ एमको प्रवन्ध निर्देशक हुन् । उद्योग बणिज्य संघमा केही बर्ष अघि सम्म मिडिया क्षेत्रका एक मात्र ब्यक्तिका रुपमा रहेका सहनले उद्योग बाणिज्य संघ चितवनले आयोजना गर्ने चितवन महोत्सवको मिडिया क्षेत्रको भुमिका हेर्थे । उद्योग बाणिज्य संघले निर्माण गर्ने व्यवसायीक विज्ञापन देखि सांस्कृतिक कार्यक्रममा पनि सिनर्जी एफ एममा कार्यरत संचारकर्मि सकृय रहन्थे । जिल्लामा एफ एमको संख्या एक दर्जन जति पुगेपछि लगातार रुपमा सिनर्जी एफ एमको नेतृत्वदायी भुमिका देख्दा अन्य मिडियाका लागि हिनताको अनुभुति थियो । उनीहरुले विज्ञापनमा विभेद भएको अनुभुति गर्दै आएका थिए । जिल्लामा संचालनमा रहेका अन्य एफ एमका संचालक बाहिरी रुपमा जुनसकै धारमा देखिएपछि भित्री रुपमा सहनको बर्हिगमन नभए सम्म अन्य मिडियाले उद्योग बाणिज्य संघले गर्ने कार्यक्रम र दिने विज्ञापनमा समानताको महसुस गर्न पाईदैन भन्ने नै थियो । उनीहरुले भित्री रुपमा गौतमको साथ दिएर मनोबल बढाई रहेका थिए ।
जातिय रंग :
चितवनमा मात्र होईन नेपालभरीलै उद्योग बाणिज्य संघ नेवारी समुदायका व्यक्तिले स्थापना गर्ने र अधिकांश नेतृत्व नेवारी समुदायलेनै गर्ने गरेको देखिन्छ । जुन सुकै पार्टिको भएपनि नेवारी समुदायबाट कमैमात्र बाहिर जाने गरेको छ । चितवनमा पनि चुके, प्रधान, पिया, श्रेष्ठ, जोशी यस्तै थरको वरीपरि धेरै घुमेको छ । दुवाडी भटटराई लगायत पनि आए जसलाई अपवाद जस्तै मानिएको छ । पदाधिकारी मात्र होईन उद्योग बाणिज्य संघमा काम गर्ने उच्च तहका कर्मचारीमा पनि नेवारी समुदायकोनै बाहुल्य हुन थालेपछि उद्योग बाणिज्य संघमा प्रतिनिधित्व गर्ने अन्य जातिका लागि हिनताबोध शुरु भैसकेको थियो । पदाधिकारी तथा कर्मचारीहरु कार्यालयमा नेवारी भाषामा बोलि रहदा त्यो नबुझ्न ईतरका मानिसले हिनता बोध गर्न सामान्यनै हो । उनीहरुको मनोविज्ञान पनि अन्यजातिबाट नेतृत्व नल्याए सम्म उद्योग बाणिज्य संघको जातिय बाहुल्यता कम गर्न सकिदैन भन्नेनै थियो ।
बस्तुतगत संघको भुमिका :
उद्योग बाणिज्य संघका सदस्य रहेका व्यवसायीका आ आफ्नै व्यवसायगत समुह पनि छन् । फेन्सी तथा रेडिमेड व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ, किराना व्यवसायी संघ, विद्युतीय सामग्री विक्रेता संघ जस्ता दर्जन बढि संघहरु छन् । यस्ता संघको नेतृत्व गरी सकेका ब्यवसायीले उद्योग बाणिज्य संघको सदस्य पदमा बहुमतले विजय हासिल गर्छन । तर अध्यक्ष हुने पाईपलाईनमा छिर्न सक्दैनन् । एक पटक नेतृत्व गरी सकेको मान्छे बस्तुगत संघमा दुई कार्यकाल नेतृत्व गर्न सक्छ त्यसपछि जाने उद्योग बाणिज्य संघनै हो तर सानो प्रयासले नेतृत्वमा पुग्न सकिदैन । उनीहरुका लागि पाईपलाईन भत्काएर गौतमकै शैलीमा आउनु पर्ने हुन्छ । बस्तुगत संघले जन्माएका नेताहरुको परिक्षण प्रतिनिधि हुन् गौतम । यो परिक्षण दोस्रो पटकमा सफल भएकाले यस्तो गतिविधिका लागि ढोका खोलि दिएको छ । बस्तुगत संघको विकास संगै उद्योग बाणिज्य संघका सदस्यको संख्या उच्चगतिमा बढेको छ जस्ले मतदानको अंक गणितमा ठुलो भुमिका खेल्छ ।
सटर भाडा र ज्यादती :
नारायणगढमा व्यवसाय गर्ने अधिकांश व्यवसायीले सटर भाडामा लिएर व्यवसाय गर्छन । नारायणगढमा अधिकांश सटरघरहरु नेवारी समुदायका ब्यक्तिका छन् । ति व्यक्तीहरु उद्योग बाणिज्य संघको नेतृत्वमा रहने पनि गर्छन । विगतमा व्यवसाय भएपनि ब्यवसाय जस्तै सटरबाट पनि राम्रो आम्दानी हुन थालेपछि व्यवसाय छाडेर घर सटर बनाएर त्यसबाट आम्दानी गर्ने प्रचलन बढेको छ । हरेक बर्ष सटरभाडा बढाईने, राज्यलाई तिर्नुपर्ने कर नतिर्ने, व्यवसाय राम्रो हुँदै जाँदा उसलाई निकालेर आफैले ब्यवसाय गर्ने वा पुरानो ब्यवसायी भन्दा बढि पैसा दिने अर्को भेटिए बिचैमा निस्केर जान भन्ने जस्ता समस्या व्यवसायीले भोग्दै आएका छन् । महंगो मासिकभाडा तिरेर बसेपनि व्यवसायीले त्यस्ता सटरघरमा शौचालय, खानेपानी जस्ता आधारभुत सुविधा पाउदैनन् । पार्किङ, विद्युतको समस्या त राष्ट्रीय समस्यानै भयो । नारायणगढका व्यवसायीले सटरभाडाको समस्या समाधान गर्न उद्योग बाणिज्य संघलाई पहलकदमी लिन पटक पटक दवाद दिएपनि यस समस्या समाधान गर्न सजिलोबाटो थिएन । किनकी धेरै सटर हुनेहरुनै विगतमा संघको नेतृत्व हाकी सकेका ब्यक्तिहरु छन् । यो तितो अनुभुतिलाई पनि नेतृत्व परिवर्तन गरेर चित्त बुझाउने मेसोका रुपमा लिन खोजिएको थियो ।
फैलिएको कार्यक्षेत्र ।
विगतमा नारायणगढ नगरपालिका क्षेत्रमा मात्र कार्यक्षेत्र रहेको नारायणगढ उद्योग बाणिज्य संघ कार्यक्षेत्र बढाउदै उद्योग बाणिज्य संघ चितवन बनेको थियो । नारायणगढको एक देखी पाँच नम्बर वडा सम्मको बाहुल्य रहेको संघमा जिल्ला भरीका सदस्य रहन पाउने भएपछि परम्परागत नेतृत्वलाई चुनौति थपिएको थियो । दुई बर्षको अन्तररातमा चार सय सदस्य थपिनुको पछाडी पनि केही योजनाबद्ध घट्नाक्रमले नै काम गरेको थियो ।
केही सकारात्मक अभ्यास :
विगतमा संघका सदस्यले अध्यक्ष खोज्दै जानुपर्ने अवस्था थियो । पदाधिकारीमा निर्बाचित भएको ब्यक्तिलाई अरु साधारण सदस्यले पहिलेनै नमस्कार भन्दै सम्मान गर्नुपर्ने अवस्था थियो । केही बर्ष देखिको निर्बाचनको अभ्यासले पदाधिकारी बन्न सदस्यको ढोका ढक ढकाउनु पर्ने बाध्यताको सृजना गरेको छ । यसले सदस्यप्रतिको उत्तरदायित्वलाई पदाधिकारी हुन भन्दा अगाडीनै बुझाउन सहयोग गरेको छ । विगतमा पुर्ब अध्यक्ष लगायतका केही व्यक्ति रोलक्रम बाँडफाँडमा सकृय रहन्थे अब यो रोलक्रम निर्धारण गर्ने जिम्मा संघका सदस्यहरुमा आएको छ ।
गौतमका चुनौति :
निर्बाचन जितेपनि दुई बर्षे कार्यकाल गौतमका लागि कम्ति चुनौतिपुर्ण हुने छैन । पदाधिकारीका रुपमा अनुभव संगाल्न नपाएकाले संघको गरिमालाई कायम राख्न गौतमले तुलनात्मक रुपमा धेरै मिहिनेत गर्नु पर्ने अवस्था छ । संघको सचिवालयका कर्मचारीसंगको सामिप्यता र ट्युन मिलाउन पनि उनलाई समय लाग्ने छ । गौतम निर्बाचित भएको संघको कार्यसमितिमा उनको प्यानलको अल्पमत भएकाले उनले पुर्ब घोषणा गरेजस्तो सुधार सम्भव हुँदैन । परम्परागत शैलिकै कार्यकाल विताउनु पर्ने बाध्यता उनलाई आउने छ । किनकी अध्यक्ष भन्दा कार्यसमिति प्रधान हुने प्रचलन छ । संघका धेरै काम सचिवालयले कार्यकारीका रुपमा गर्ने अध्यक्ष लगायतका पदाधिकारी सेरोमोनियल रुपमा रहने ब्यवस्था छ ।
नेपालका जिल्ला स्तरका वा क बर्गमा उद्योग बाणिज्य संघमा लगातार उत्कृष्ट घोषित हुँदै सम्मान तथा पुरस्कार पाउदै आएको उद्योग बाणिज्य संघ चितवनको पुरानो गरिमा र साखलाई अझ बढाउदै सृजनशिल कार्यले भरिएको कार्यकाल पुरा गर्न गौतम सहित विजयी भएको नयाँ कार्यसमितिका सबै पदाधिकारीलाई अग्रीम शुभकामना ।
हाल युएई ।

Leave a Reply

Your email address will not be published.