नेपाल–भारतको सम्बन्ध सुधार्न विज्ञहरुको समूह बनाइने

काठमाडौं, ३०  पुस । सरकारले नेपाल–भारतबीचको सम्बन्ध पुनरावलोकन गर्न विज्ञ समूह बनाउने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले दुई मुलुकबीच चिसिएको सम्बन्धलाई सुधार गर्न सुझाव दिने प्रयोजनका लागि समूह बनाउने विषयमा छलफल भएको हो ।

परराष्ट्र मन्त्रालयले लगेको प्रस्तावमाथि मन्त्रिपरिषद्मा छलफल भएको र यसबारेचाँडै निर्णय गरिने सूचना तथा सञ्चार मन्त्री शेरधन राईले जानकारी दिए ।
विज्ञहरुको समूहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त सूर्यनाथ उपाध्याय, संयुक्त राष्ट्र संघका पूर्वउपमहासचिव कुलचन्द्र गौतम, भारतका लागि नेपालका पूर्वराजदूत भेषबहादुर थापा र एमाले सांसद तथा परराष्ट्र मामला जानकारी राजन भट्टराईको नाम मन्त्रिपरिषद् बैठकमा आएको थियो ।

समूहको कार्यक्षेत्र भारतसँग हालसम्म भएका सबै सन्धि–सम्झौताको पुनरावलोकन गर्ने र चिसिएको सम्बन्धमा सुधार ल्याउँदै दीर्घकालीन लाभका उपायबारे सरकारलाई सुझाव दिने हुने छ ।

कार्यकाल दुई वर्षको हुने प्रस्ताव छ । छिमेकीसँगको सम्बन्धकै पुनरावलोकन गरिने भएकाले विपक्षी दलसँग समेत छलफल गरी अन्तिम टुंगो लगाइने भएको छ ।

 

Leave a Reply

Your email address will not be published.